मोरङका एमाले नेता पोखरेलविरुद्ध अदालतमा ठगी मुद्दा दर्ता
विराटनगर। नेकपा (एमाले) मोरङका जिल्ला सदस्य अनिलकुमार पोखरेलविरुद्ध जिल्ला अदालत मोरङमा ठगी मुद्दा दर्ता भएको छ। रंगेली नगरपालिका–२ घर भइ काठमाडौंमा बस्दै आएका ४३ वर्षीय पोखरेलविरुद्ध बुधबार ठगी मुद्दा दर्ता भएको हो।
उनी संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति एवं एमाले नेता ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव हुन्। प्रहरीले अनुसन्धान सकेर बुझाएको प्रतिवेदनका सरकारी वकिलको कार्यालय मोरङले अभियोगपत्रसहित उनलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।
अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार ठगी भएको ३८ लाख ८० हजार रकम फिर्ता र सोही बराबरको बिगो मागदाबीसहित पोखरेलविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए। उनी गत पुस २५ गते पक्राउ परेका थिए। प्रहरीले १२ दिनमा अनुसन्धान सकेर मंगलबार वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
एमबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै पोखरेलले सप्तरीका बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ। पार्टीको कोटामा छोरीलाई एमबीबीएस भर्ना गरिदिने भन्दै आफूसँग २०७१ देखि २०७३ सालसम्म ३८ लाख ८० रुपैयाँ लिएको बौआलालको भनाइ छ।
रकम लिए पनि नाम ननिस्किएपछि उनले पैसा फिर्ता मागेका थिए। फिर्ता माग्दा उल्टै आफूसँग जबरजस्ती ५० लाख रुपैयाँ ऋण लिएको कागज गराएको बौआलालले दिएको बयानमा उल्लेख छ।
ठगिएपछि बौआलाल २ वर्षअघि जाहेरी दिन प्रहरी कार्यालयमा गएका थिए। तर प्रहरीले जाहेरी दर्ता गरेन । यसैगरी, हुलाकमार्फत जाहेरी पठाएर उनले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए।
त्यसपछि उच्च अदालतले अनुसन्धान गर्न आदेश दिएको थियो। आदेशपछि प्रहरीले अनिललाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको हो । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेशले स्वकीयको जिम्मेवारीबाट अनिललाई यसअघि नै हटाइसकेका छन्।
