नेपाल महिला टी-२० विश्वकपको समूह चरणबाटै बाहिरियो
काठमाडौं। आईसीसी यु-१९ महिला टी-२० विश्वकप क्रिकेटमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको छ। पराजयसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ।
अस्ट्रेलियाले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ५६ रनमात्र बनाउन सक्यो। नेपालकी कप्तान पूजा महतोले १८ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। अस्ट्रेलियाकी हसरत गिल, जुलिटी मोर्टन र लिली बेसिंगथवाइटले २–२ विकेट लिए।
यसअघि मलेसियाको बाङ्गीमा रहेको यूकेएम क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनायो। अस्ट्रेलियाकी काओइम्हे ब्रेले ४५ रन बनाइन् । नेपालकी कप्तान पूजा महतोले ३, सिमाना केसीले २ र रिया शर्माले १ विकेट लिए।
पहिलो पटक यु–१९ महिला टी–२० विश्वकप खेलेको नेपालको प्रतियोगितामा यो लगातार तेस्रो हार हो। पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेट र दोस्रो खेलमा स्कटल्यान्डसँग १ विकेटले पराजित भएको थियो। नेपाल रहेको समूह ‘डी’ बाट अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड ‘सुपर–सिक्स’ मा पुगेका छन्।
