सीमा क्षेत्रमा भेटियो चाँदीका डेढ किलो गहना
विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रमा चाँदीका डेढ किलो गहना र मूर्ति भेटिएको छ। धनपालथान–२ गोसाई पोखरीनजिक प्रहरीले बुधबार ती सामान भेटेको हो।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार भारतबाट अवैध रुपमा चाँदी नेपालतर्फ आइरहेको सूचना आएपछि निगरानी गरिएको थियो। त्यस क्षेत्रमा निगरानी गरिरहेको प्रहरी टोलीलाई देखेर ती सामान ल्याउने एक महिला भागेकी थिइन्।
ती महिलाले फ्याँकेको कपडाको एउटा पोको हेर्दा चाँदीका गहना र मूर्ति फेला परेको हो। महिला भारततर्फ भागेको प्रहरीले जनाएको छ।
अमाहीवरियातीस्थित प्रहरी चौकीबाट पुगेको टोलीले पोको खोलेर हेर्दा १ किलो ६ सय ग्राम चाँदीका गहना र मूर्ति फेला परेको थियो। ती महिलाको खोजी जारी भइरहेको प्रहरीले जनाएको छ। ती गहना र मूर्ति २ लाख ६० हजार मूल्य बराबरको रहेको जनाइएको छ।
