प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबारे पार्टीमा छलफल भएको छैनः कोइराला
विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल जस्तो देशमा संसदीय व्यवस्था नै उत्तम हुने बताएका छन्। विराटनगरस्थित कोइरालाल निवासमा बुधबार पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
‘नेपालजस्तो देशमा संसदीय व्यवस्था नै उपयुक्त हुन्छ’ नेता कोइरालाले भने।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेन्डा अघि सारेकोबारे पत्रकारको जिज्ञासामा कोइरालाले नेपाल दुई ठूला देशको बीचमा रहेका बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश भएकोले संसदीय व्यवस्था नै उपयुक्त हुने बताए।
उनले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुसंस्कृतिक देश भएको हुनाले र दुई ठूला देशको बीचमा हामी छौं त्यहाँ पार्लियामेन्ट्री सिस्टम नै बेटर हुन्छ भन्ने लाग्छ।’
पार्टीभित्र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबारे छलफल नभएको उल्लेख गदैृ नेता कोइरालाले भने, ‘नेपाली कांग्रेस पार्लियामेन्ट्री सिस्टम र डेमोक्रेसीलाई मानेर हिंडिरहेको छ, अहिलेसम्म प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबारे कांग्रेसभित्र छलफल भएको छैन।’
प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रबाट देश चलाउन खोजिरहेको आरोप पनि लगाए। ‘देश सरकारले चलाउने हो तर, यहाँ संयन्त्रमार्फत प्रधानमन्त्रीले चलाउन खोजेजस्तो देखिन्छ’ उनले भने, ‘यो बिलकुल गलत हो।’
नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धन सरकार बनेपछि दुई दलले सरकार सञ्चालनका लागि भनेर संयुक्त संयन्त्र बनाएका छन्। प्रदेश तहमा पनि संयन्त्र छन्। ती संयन्त्रले सरकार सञ्चालनमा सहजीकरण गर्ने भनिएको छ।
यसैगरी उनले संवैधानिक प्रावधानको दुरुपयोग गरेर सरकारले अध्यादेश ल्याएको आरोप पनि लगाए। देशै नचल्ने अवस्थामा मात्रै ल्याउनुपर्नेमा अध्यादेश ल्याउनसक्ने प्रावधानको दुरुपयोग गरिएको उनको भनाइ छ।
सरकारले पुस १४ गते ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ ल्याएको थियो। पुस २९ गते ४ वटा र माघ २ गते १ वटा अध्यादेश जारी गरिएको थियो।
अर्को प्रसंगमा नेता कोइरालाले नेपाली कांग्रेस र नेकपा (एमाले) ले चाहेर मात्रै संविधान संशोधन सम्भव नहुने बताए। संविधान संशोधनमा सबैलाई समेट्नुपर्ने उनको धारणा छ।
