पूर्वी नाकाबाट २ अर्ब ९५ करोडको चिया निर्यात

झापा। चालु आर्थिक वर्षको ६ महिनामा पूर्वी नाकाबाट चिया निकासी बढेको छ। मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को उक्त अवधिमा ५५.७० प्रतिशतले चिया निकासी बढेको हो।

गत साउनदेखि पुससम्म २ अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको कार्यालयले जनाएको छ।

उक्त अवधिमा ११ हजार २३२.२७ मेट्रिक टन चिया निर्यात भएको कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए। गत आव २०८०/८१ को सोही अवधिमा एक अर्ब ९० करोड पाँच लाख ६ हजार बराबरको चिया निर्यात भएको थियो।

भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात बढेको जनाइएको छ।

यसैगरी, उक्त नाकाबाट अलैँची निर्यात पनि बढेको छ। कार्यालयको तथ्यांक अनुसार चालु आव २०८१/८२ को पुस मसान्तसम्म १६.७ प्रतिशतले अलैँची निर्यात बढेको छ।

उक्त अवधिमा ४ अर्ब ५५ करोड ७० लाख ६९ हजार बराबरको अलैँची निर्यात भएको जनाइएको छ। गत आवको सोही अवधिमा तीन अर्ब ९० करोड ५८ लाख ६ हजार बराबरको अलैँची निर्यात भएको थियो।

भन्सार कार्यालयका अनुसार उक्त अवधिमा प्लाइउड २७.९०, सिमेन्ट क्लिङ्कर ४ हजार १४१ र भेनियर सिटको निर्यात २३६ प्रतिशतले वृद्धि भएको छ।

फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दागोबी, ब्रोकाउली, फलामलगायत वस्तुको निर्यातमा भने कमी आएको छ।

पूर्वी नाकाबाट चालु आवको ६ महिनामा कूल १३ अर्ब ८४ करोड ४ लाख ३९ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *