विराट एक्स्पोमा गुणस्तरीय व्यवस्थापनसहित डिजिटल प्रविधि
विराटनगर। माघ ११ देखि २० गतेसम्म हुने आठौ सस्करणको विराट एक्स्पोमा नयाँ लगानीकर्ताले उद्योग व्यवसाय सञ्चालन गर्दा अपनाउनु पर्ने गुणस्तरीय व्यवस्थापन प्रणालीवारे विस्तृत जानकारी दिइने भएको छ।
त्यसका लागि आयोजक उद्योग संगठन मोरङले सुरु गरेको क्युसेफ व्यवस्थापन मापदण्ड प्रणालीको सुरुवाती चरण अन्र्तगत एक्स्पो स्थलमा गुणस्तरीय व्यवस्थापन प्रणाली र स्वः परीक्षणको व्यवस्था गरिने छ।
एक्स्पोमा उद्योगी व्यवसायीले आफ्नो उद्योग, औद्योगिक प्रतिष्ठानहरुको गुणस्तर मापदण्ड प्रणालीअनुसार कस्तो अवस्थामा छ, अनुपालना गर्नु पर्ने प्रावधानहरुको पालना भएको छ, छैन लगायत समग्र आफ्नो उद्योगको अवस्था एवं क्षमताबारे व्यवस्थापन प्रणाली परीक्षण गर्न सक्ने छन्।
एक्स्पो अवधिमा डिजिटल प्लेटफर्म मार्फत आफै मोबाइल मार्फत आफ्नो उद्योगको व्यवस्थापकीय क्षमताका आकलन गर्ने र त्यसको नतिजा तुरुन्त प्राप्त गर्ने व्यवस्था एक्स्पोले मिलाइएको छ।
यो स्वः परीक्षण नतिजाले गुणस्तर मापदण्डको प्रमाण पत्र प्राप्त गर्न के के गर्नु पर्दछ, कुन कुन बिषयमा क्षमता विकास गर्नु पर्दछ भन्नेबारे जानकारी उपलब्ध गराइने छ।
डिजिटल तथा व्यावसाविक विकास सेवा पेभिलियन
एक्स्पोमा आईटी तथा डिजिटल प्रविधिको क्षेत्रमा नेपालमा उपलब्ध प्रविधि, प्रोसेस, पूर्वाधार, उपकरण तथा पद्दतिहरु समेटिएको पेभिलियन पनि राखिने भएको छ। डिजिटल तथा विडियस यो पेभिलियनले डिजिटल तथा व्यावसायिक विकास सेवाहरुको काम गर्ने छ।
यो पेभिलियनमा स्मार्ट फ्याक्ट्री वा कार्यालयको झलक दिने गरी कार्यालयमा आवश्यक आईटी सेवाको सम्पूर्ण इकोसिस्टम प्रदर्शनसहित जानकारी उपलब्ध गराइने छ। त्यसैगरी, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत डिजिटल सेवाहरु र यसका बारेमा जानकारीमूलक स्टलले यो पेभिलियनको थप आकर्षण बढ्ने आयोजक उद्योग संगठनको विश्वास छ।
यस पेभिलियनको दोस्रो खण्डमा बैंक तथा वित्तिय संस्था एवं फण्ड म्यानेजमेन्ट कम्पनीहरु, विमा, परामर्शदाताहरु, सरकारका औद्यौगिक विकासका उपलब्ध सेवाहरु तथा प्रक्रियाहरु, शैक्षिक स्वास्थ्य तथा अन्य क्षेत्रका बारेमा सूचना सेवाहरु एक्स्पोमा समावेश गरिएको छ।
बिशेष गरेर लघु घरेलु तथा साना उद्योगहरुलाई डिजिटल प्रविधिका बारेमा सचेतना, यसको उपयोगिताबारे उद्योग व्यवसायमा डिजिटल प्रविधिको प्रयोग सम्बन्धीका सूचना सामग्रीहरु मार्फत प्रवर्द्धन गरिने जनाइएको छ।
