बुढा सुब्बा गोल्डकपः उद्घाटन खेल पुलिस र चर्च ब्वाईजबीच
सुनसरी । धरानमा हुने २५औं संस्करणको बुढा सुब्बा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। माघ ११ गतेदेखि हुने प्रतियोगिताको उद्घाटन खेल चर्च ब्वाईज युनाइटेड काठमाडौं र विभागीय टोली नेपाल पुलिस क्लबबीच हुने छ।
आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार प्रतियोगिताका लागि मैदान व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।
गोल्डकपमा साविक विजेता एनआरटी, आयोजक धरान फुटबल क्लब, भारतको युकेएफसी, भुटानको आरटीसी एफसी, इटहरीको राजा क्लब, झापाको केएफटीसी, नेपाल पुलिस क्लब, चर्च ब्वाईज युनाइटेड गरी ८ वटा टिमको सहभागिता रहने छ।
माघ २६ गतेसम्म हुने गोल्डकपको उपाधि विजेता टिमले ट्रफीसहित १० लाख नगद पुरस्कार पाउने छ। उपविजेता हुने टोलीले ५ लाख रुपैयाँ पाउने छ।
गोल्डकपमा ८२ लाख ४० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ। विदेशी संघसंस्थाबाट २५ लाख, मुख्य प्रयोजकबाट १२ लाख, धरान उपमहानगरको सबै २० वडाबाट १२ लाख, कोशी प्रदेश सरकारबाट १० लाख, राष्ट्रिय खेलकुद परिषद्बाट १० लाखसहित गरी १ करोड १ लाख २५ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।
धरानमा २०५५ सालबाट सुरु भएको गोल्डकपको यसअघिको २४औं संस्करणमा मोरङ फुटबल संघलाई १–२ गोल अन्तरले पराजित गर्दै न्यूरोड टिम एनआरटीले उपाधि हात पारेको थियो।
