कृष्णभूषण बल प्रतिष्ठानद्वारा ४ स्रष्टा पुरस्कृत

विराटनगर। वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले साहित्यका विभिन्न विधामा कलम चलाउने स्रष्टाहरूलाई पुरस्कृत गरेको छ।

प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ कवि शैलेन्द्र साकारसहित ४ जना स्रष्टालाई पुरस्कृत गरेको हो।

प्रतिष्ठानले गीतकार शिवशंकर थापा, कवि एवं गजलकार प्रेम ओझा र कवि शुभलक्ष्मी लम्साललाई पनि पुरस्कृत गरेको छ। साकार र थापालाई जनही २५–२५ हजार, ओझालाई १५ हजार र लम्साललाई ११ हजार राशिसहित सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्थाकी प्रमुख संरक्षक शोभा लामा बल, कार्यबाहक अध्यक्ष केशव आचार्य, महासचिव विवश पोखरेल, साहित्यकार खेम नेपालीलगायतले दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गरेका थिए।

कार्यक्रममा वरिष्ठ आख्यानकार कृष्ण धरावासी, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, अग्रज साहित्यकार खेम नेपाली, कवि मुनाराज शेर्मा, गोकुल अधिकारी, निर्मला कोइराला, रमेशचन्द्र अधिकारी लगायतले कृष्णभूषण बलको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए।

कवि कृष्ण बराल, सीमा आभास, सुदिप पाख्रिन, रोशन परियारलगायतले बलले लेखेका कविता वाचन गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *