राजदुवाली सडकबारे सुहाङ, ‘समाधानको पहलमा लागेका छौं’

इलाम। गत वर्षा याममा मेची राजमार्गको राजदुवाली खण्ड निकै क्षतिग्रस्त बनेको थियो। पर्वका बेला आउजाउ गर्नेहरुलाई समस्या परेको थियो। तत्कालका लागि मर्मत गरी सञ्चालनमा ल्याइए पनि त्यो दीर्घकालीन नहुने भन्दै व्यापक चासो र आलोचना पनि भएको थियो।

लामो समयदेखि भासिने समस्या भोग्दै आएको उक्त सडक खण्ड भरपर्दो नभएको सर्वत्र आवाज उठिरहेको छ। पछिल्लो पटक फेरि उक्त सडकको अवस्थाबारे चासो र चिन्ता व्यक्त भइरहेको छ।

सामाजिक सञ्जालहरुमा क्षतिग्रस्त सडकको फोटो राखेर ध्यानाकर्षण गराउने काम फेरि भइरहेको छ। सर्वसाधारणले सडक नबन्नुमा राजनीतिक दल र तिनका नेताहरुको पनि आलोचना र विरोध गरिरहेका छन्।

यसै सन्दर्भमा इलामबाट प्रतिनिधित्व गर्ने संघीय सांसद सुहाङ नेम्वाङले आफ्ना धारणा सार्वजनिक गरेका छन्।

उनले आफ्नो फेसबुक पेजमा लेख्दै समाधानका लागि पहल गरिरहेको उल्लेख गरेका छन्। उनले सम्बन्धित निकायहरुमा पटक पटक सम्पर्क गरी सडकको विकल्पका बारेमा पनि कुरा गरेको जनाएका छन्।

सुहाङ लेख्छन्–

मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका वडा नम्बर ९ स्थित राजदुवाली सडक खण्डमा भाँसिएको सडक र त्यसले सो क्षेत्रमा पार्ने समस्या, समाधान र विकल्पको बारे केही दिनयता विभिन्न सामाजिक सञ्जाल तथा समाचारहरूमा सार्वजनिक भइरहेको चासो र चिन्ताप्रति हाम्रो ध्यानाकर्षण भएको छ।

उक्त भासिएको सडकलाई स्थायी समाधानका लागि सर्वप्रथम माटो परीक्षण र भौगर्भिक अध्ययन समेत गरेर उत्तम उपाय अवलम्बन गर्नुपर्छ। यसका लागि हामीले सम्बन्धित निकायहरूमा निरन्तर माग, पहल र सम्पर्क गरिरहेकै छौं। पछिल्लो साता सम्बन्धित मन्त्रालय र विभागमा म निरन्तर गइरहेको छु।

यसको विकल्पका रूपमा मेची (करिडोर-केचना-कञ्चनजंघा) सडकको बेलासे खण्डमा निर्माणाधीन सडकको समयमै निर्माण सम्पन्नको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौं। सो खण्डमा निर्माण गर्न बाँकी एउटा पुल समेत माग पटक-पटक गरिसकेका छौं र निरन्तर फलोअप गरिरहेका पनि छौं।

यी दुवै कार्यका लागि अब हामी के के गर्न सक्छौं? कसरी अगाडि बढ्न सकिन्छ र हाम्रो आवश्यक्तालाई यथासक्य चाँडो सम्बोधन गर्न सम्बन्धित सबै पक्ष, निकाय, अग्रजजन, युवा मित्रहरूबाट रचनात्मक सल्लाह र सहयोग समेतको समेत अपेक्षा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *