दुबई र बेलायत पठाइदिने भन्दै ८५ लाख ठगी, २ जना पक्राउ

काठमाडौं। आकर्षक तलब पाइने रोजगारीमा लगाइदिने लोभ देखाएर बेलायत र दुबई पठाइदिने भन्दै झन्डै ८५ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार तनहुँको बन्दीपुर गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने २३ वर्षीया सञ्जिता गुरुङ र तनहुँकै भीमाद नगरपालिका–१ घर भई काठमाडौं–६ बौद्ध बस्ने ५० वर्षीय रेशमराज लामिछाने पक्राउ परेका हुन्।

सञ्जिताले बेलायत पठाइदिने भन्दै दुई जनाबाट ६० लाख ८९ हजार र रेशमराजले दुबई पठाइने भन्दै ११ जनाबाट २४ लाख रुपैयाँ लिएको पाइएको प्रहरीको भनाइ छ। रकम लिएपछि दुवै जना सम्पर्कविहीन भएको प्रहरीको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

खोजीका क्रममा सञ्जितालाई न्युरोडबाट र रेशमराजलाई बौद्धबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उक्त कार्यालयका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *