धरानमा सुर्तीजन्य वस्तु किनबेच र प्रयोगमा प्रतिबन्ध

सुनसरी। धरानमा सुर्तीजन्य वस्तु किनबेचमा प्रतिबन्ध लगाइएको छ। धरान उपमहानगर कार्यपालिका बैठकले उपमहानगर क्षेत्रमा सुर्तीजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

उपमहानगरका मेयर हर्कराज राई (हर्क साम्पाङ) का अनुसार पालिका क्षेत्रभित्र खैनी, गुट्खा, चुरोटलगायत सुर्तीजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको हो।

एक महिनाभित्र सार्वजनिकस्थलबाट सुर्तीजन्य वस्तु नहटाए जफत गरेर कानुनबमोजिम जरिवाना गरिने उनले बताए।

बजार क्षेत्रमा जथाभावी सुर्तीजन्य पदार्थ किनबेच हुँदा मानव स्वास्थ्यमा असर गर्नुका साथै फोहर बढेर वातावरणमा प्रतिकूल असर पर्न थालेपछि प्रयोगमा रोक लगाइएको उपमहानगरले जनाएको छ।

उपमहानगर क्षेत्रका सडक, पुस्तकालय, सार्वजनिक शौचालय, व्यायामशाला, अस्पताल, शैक्षिक संस्था, धर्मशाला, धार्मिकस्थलजस्ता क्षेत्रमा सरसफाइ गर्दा चुरोट, बिँडी, प्लास्टिकमा प्याक गरिएका सुर्ती, खैनी, गुट्खा, पानपरागका खोलजस्ता वातावरणलाई दुर्गन्धित बनाउने फोहर अत्यधिक भेटिन थालेपछि यस्ता वस्तु प्रयोगमा रोक लगाउनुपरेको नगरप्रमुख राईको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *