माग पूरा गराउन आन्दोलनमा उत्रँदै निर्माण व्यवसायी
काठमाडौं। लामो समयदेखि रहेको बक्यौता रकम दिनुपर्ने लगायत माग राख्दै निर्माण व्यवसायीले आन्दोलन घोषणा गरेका छन्। निर्माण व्यसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले आज माघ ३ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने भएका हुन्।
संघीय राजधानी काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलन गर्ने घोषणा गरिएको थियो। महासंघका महासचिव रोशन दाहालले सरकारसँग विभिन्न माग राख्दै आए पनि पूरा नभएपछि बाध्य भएर आन्दोलन घोषणा गर्नुपरेको बताए।
उनका अनुसार माघ ३ देखि ७ गतेसम्म १४ बुँदे मागसहित प्रधानमन्त्री र विकासे मन्त्रालयका मन्त्रीहरूलाई ज्ञापनपत्र बुझाइने छ।
त्यसैगरी माघ १८ गते काठमाडौंको माइतीघर मण्डलामा धर्ना, माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना र २१ गतेदेखि राजधानी प्रवेश गरेर पूर्वपश्चिम नाका ठप्प पार्ने गरी चरणबद्ध आन्दोलनका कार्यक्रम बनाइएको छ।
चरणबद्ध आन्दोलनपछि पनि सरकारले माग सुनुवाइ नगरे राष्ट्रिय गौरवका आयोजना सहित सबै किसिमका निर्माणका काम ठप्प पारिने महासचिव दाहालले जानकारी दिए।
पछिल्लो पटक निर्माण सामग्रीको भाउ बढिरहनु, सरकारले लामो समयदेखि बक्यौता भुक्तानी नगर्नु, नेपाल राष्ट्र बैंकले उपलब्ध गराएका सुविधा कटौती हुनुजस्ता कारणले निर्माण व्यवसाय समस्यामा परेको महासंघको भनाइ छ।
आफ्ना समस्याहरुलाई राज्यका कुनै पनि तह र तप्काले अहिलेसम्म गम्भीर रुपमा नलिएकै कारण निर्माण उद्योगमा एकपछि अर्को गरी जटिल समस्याहरु देखा परेको जनाइएको छ।
यी र यस्ता विभिन्न कारणले गर्दा निर्माण उद्योग पूर्ण रुपमा धरासायी हुने अवस्था भएकाले यस क्षेत्रको तमाम समस्या समाधानका लागि नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधित्व रहने गरी उच्चस्तरीय आयोग गठन गर्न पनि माग गरिएको छ।
