नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित
काठमाडौं। आईसीसी यू–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ।
मलेसियामा आज सोमबार भएको पहिलो अभ्यास खेलमा वेष्ट इन्डिजले नेपाललाई जितका लागि एक सय १० रनको लक्ष्य दिएको थियो। नेपालको पारी १९ दशमलव एक ओभरमा एक सय रनमै सीमित भयो।
नेपालका लागि सिमाना केसीले २३, पूजा महतोले १८, किरण कुँवरले १८ र सोनी पाख्रिनले १५ रन बनाए। बलिङतर्फ वेष्ट इन्डिजकी त्रिशा हरदत, आलिया विकीज र आमिया गिल्बर्टले दुई–दुई विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा चार विकेट गुमाएर एक सय नौ रन बनाएको थियो। वेष्ट इन्डिजका लागि जजारा क्लक्सटनले अविजित २२ रन बनाइन्। यस्तै कप्तान समारा रमनथले २५ र अबिगेल ब्राइसले १९ रनको योगदान दिइन्।
बलिङतर्फ नेपालकी सिमाना केसी र रचना कुमारी चौधरीले एक–एक विकेट लिए। नेपालले दोस्रो अभ्यास खेल माघ २ गते अमेरिकासँग खेल्नेछ ।
माघ ५ गतेदेखि मलेसियामा सुरु हुने यु–१९ महिला टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। उक्त समूहमा बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया छन्। नेपालले माघ ५ गते बङ्गलादेशसँग, माघ ७ गते स्कटल्यान्डसँग र माघ ९ गते अस्ट्रेलियासँग खेल्ने छ।
