भर्ना रोक्ने त्रिभुवन विश्वविद्यालयको निर्देशनप्रति विद्यार्थीको आपत्ति
काठमाडौं। त्रिभुवन विश्वविद्यालयले स्नातक तहको विद्यार्थी भर्नामा रोक लगाएपछि विद्यार्थीले आपत्ति जनाएका छन्। विश्वविद्यालयको शिक्षाध्यक्ष कार्यालयले तोकिएको समय सीमा सकिएको भन्दै भर्ना नगर्न निर्देशन दिएपछि विरोध भएको हो।
शैक्षिक क्यालेन्डर अनुसार समय सकिएको जनाउँदै शिक्षाध्यक्षको कार्यालयले डीन कार्यालयहरूलाई थप विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको छ।
उक्त निर्णयप्रति त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आपत्ति जनाएको छ। युनियन सभापति श्यामराज ओझाले विद्यार्थी भर्नामा रोक लगाएकोप्रति आपत्ति जनाएका हुन्।
युवा विदेशिने क्रम बढिरहेका बेला स्नातक भर्ना एक्कासि रोक्नुले आश्चर्यचकित ओझाको भनाइ छ। निश्चित समयावधि तोकेर भर्ना प्रक्रिया अघि बढाउन उनले आग्रह गरेका छन्।
रजिस्ट्रेसन नखुलेको अवस्थामा शिक्षाध्यक्षले भर्ना रोक्न निर्देशन दिएको आरोप ओझाले लगाएका छन्। रजिस्ट्रेसन खुलेपछि मात्रै भर्ना गर्ने चलन रहेकामा अहिले एक्कासि भर्ना प्रक्रिया रोक्न निर्देशन दिइएको उनको भनाइ छ।
