सेनाले सुरू गर्यो धरान-धनकुटा एकीकरण पदयात्रा

धनकुटा । नेपाली सेनाको टोलीले एकीकरण पदयात्रा सुरु गरेको छ। धनकुटाको सल्लेरीस्थित नेपाली सेनाको भीमदल गणले पदयात्रा सुरु गरेको हो।

नेपाल एकीकरणका अगुवा पृथ्वीनारायण शाहका सेनाले प्रयोग गरेको सुनसरीको धरान, फुस्रे, चिउरीबास, धनकुटा साँगुरीगढी, धारापानी, फेदी, मूलघाट, बेलहरा, उत्तरपानी हुँदै पाख्रीबाससम्म ४ दिनको पदयात्रा गर्ने सेनाले जनाएको छ।

यस क्रममा शनिबार फुस्रेदेखि साँगुरीगढीसम्मको यात्रा पूरा भएको छ। आइतबार साँगुरीगढीबाट मूलघाट, सोमबार मुलघाटबाट बेलहरा हुँदै माघ १ गते पाख्रीबास पुग्ने भीमदलगणका गणपति गणेश थापाले बताए।

पूर्वी राज्य एकीकरणका बेला सामरिक महत्वको साँगुरीगढीमा सेनाले जोर तोप स्थापना गरेको छ। साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली र नेपाली सेनाको २ नम्बर बाहिनी अड्डा हिलेका सहायक रथी दील विक्रम सुब्बाले ऐतिहासिक तोप अनावरण गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *