सुरजले ल्याए ‘जब कविता निस्कन्छ जुलुसमा’
सुनसरी। सर्जक सुरज रानाको कविता संग्रह ‘जब कविता निस्कन्छ जुलुसमा’ को गृह लोकार्पण गरिएको छ। क्यानभास साहित्य समाजको आयोजनामा सङ्गीत साधना प्रतिष्ठान नेपालको सभाहलमा शनिबार उक्त कृति लोकार्पण गरिएको हो।
सुरजका अधिकांश कविताले विद्रोही भावमा सामाजिक रूपान्तरणको आह्वान गरेका छन्। कृतिमा ‘प्रहरी चौकीमा सोल्टा’, ‘बन्दूकले कविता लेख्न थाल्छ’, ‘अक्षरहरू’, ‘सास फेर्ने मूर्ति’, ‘समय एक म्याराथन’, ‘दोषी’, ‘याद’, ‘तिमीलाई सम्झिरहेको छु’, ‘हजुर जानुभयो’ लगायत कविता छन्।
विद्रोहका कुरा, राजनीतिक विकृति र विसंगतिमा व्यङ्ग्य जस्ता विषय मात्र होइन उनका कविता प्रेममय पनि छन्। जस्तो– ‘हजुर मुस्कुराउनोस्’ कविताले भन्छः
हजुर मुस्कुराउनोस्
ता कि प्रेमको मैनबत्ती जलिरहोस् त्यो अनुहारमा
हजुरलाई देखेर
मेरो जिन्दगीको छातीनेर
सधैं धड्किरहोस्– एउटा गुलाब।
सङ्ग्रहमा विभिन्न विषयमा आधारित ४५ वटा कविता समावेश छन्। लोकार्पण कार्यक्रममा कवि सुदीप पाख्रिनले सङ्ग्रहभित्रबाट ‘अनुभूति’ शीर्षकको कविता सुनाएका थिए।
उक्त कविता वाचनसँगै कृतिको गृह लोकार्पण भएको थियो। त्यसपछि कवि टीका आत्रेयले ‘सपना-जुत्ता’ र धीरज राईले ‘ओ बाहुनी’ शीर्षकको कविता सुनाए।
कविता सङ्ग्रहबारे कवि सीमा आभासले चर्चा गरिन्। कविले आफ्नो पहिचान र समुदायको कुरा कवितामार्फत पनि भन्न सकिने र उक्त सङ्ग्रहभित्र विद्रोहको स्वरसमेत रहेको उनले बताइन्।
कार्यक्रमको अर्काे खण्डमा ‘सुरजसँग संवाद’ अन्तरक्रिया राखिएको थियो। कार्यक्रममा कवि रानासँग अमित थेवेले प्रश्नोत्तर गरे। कविता लेखन, सङ्ग्रह, पहिचान, सम्भव समूह लगायतबारे प्रश्नोत्तर भएको थियो।
कार्यक्रममा कविहरूलाई कोशी प्रदेशसभा सदस्य मीना श्रेष्ठ, सङ्गीत साधना प्रतिष्ठानका महासचिव राजु केसी, कविहरू देवान किराती, डा. अस्मिता विष्ट, हेमन यात्री, एकु घिमिरे, किरण टी लिम्बू, भरत दाहाल लगायतले मायाको चिनो वितरण गरे।
क्यानभास साहित्य समाजले १० वर्षयता विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको संस्थाका सचिव विवेक विवश रेग्मीले जनाए।

