मलद्वारमा सुन लुकाएर कतारबाट आएका ३ जना पक्राउ
फाइल तस्बिर
काठमाडौं। कतारको दोहाबाट नेपाल आउँदा मलद्वारमा सुन लुकाएर ल्याउने तीन जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेको छ। हिमालय एयरलाइन्सको उडानमा काठमाडौँ आएका उनीहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा पक्राउ गरिएको थियो ।
प्रहरी प्रधान कार्यालयका अनुसार सप्तरी घर भएका ३२ वर्षीय कृष्णप्रसाद चौधरी, ३० वर्षीय मोहम्मद इलियास र सुनसरीको इटहरी उपमहानगरपालिका–१९ का २७ वर्षीय शिवशंकर चौधरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको छ।
प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले उनीहरूलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए।
कृष्णप्रसादको साथबाट करिब ५८ दशमलव ३३ ग्राम तौलको सिक्री १ थान, मोहम्मदको साथबाट करिब ५८ दशमलव ३३ ग्राम तौलको सिक्री १ थान र शिवशंकरको साथबाट करिब ५८ दशमलव ३३ ग्राम तौलको सिक्री १ थान बरामद गरेको प्रहरीले जनाएको छ।
