एन्फा महिला लिगः एपीएफद्वारा आर्मी पराजित
काठमाडौं। सशस्त्र प्रहरीको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ ले पराजित गरेको छ। आर्मीलाई पराजित गर्दे एपीएफले एन्फा महिला लिगको शीर्षस्थानमा फराकिलो अग्रता बनाएको छ। लिगअन्तर्गतका चार खेलसम्म एपीएफ अपराजित रहँदै आएको छ।
शुक्रबार भएको खेलको पहिलो हाफ गोलरहित बनेको थियो। दोस्रो हाफको ६० औं मिनेटमा निशा थोकरले गोल गरेर एपीएफलाई अग्रता दिलाइन्।
यसैगरी, खेलको ७० औं मिनेटमा आर्मीकी विमला थापाले बराबरी गोल फर्काइन् । एपीएफकी अनिताले खेलको ८५ औं मिनेटमा गोल गरिन्। त्यसपछि लामो दूरीबाट बल प्रहार गरेर प्रीति राईले गोल गरेपछि भने एपीएफले खेलमा ३–१ को जित दर्ता गरेको हो।
जारी लिगमा चार खेलबाट १२ अंक बनाएर एपीएफ शीर्षस्थानमा छ भने दोस्रो स्थानको आर्मी र तेस्रो स्थानको पुलिसको समान सात–सात अंक छ । आर्मी र पुलिस एपीएफसँग पराजित भएका हुन्।
लिगको सुपर लिग चरणमा पाँच टिमले प्रतिस्पर्धा गरिरहेका छन्। वालिङ नगरपालिकालाई हराएर तीन अंक जाडेको बागमती चौथो स्थानमा छ। सबै खेलमा पराजित वालिङ अंकविहीन बनेर पाँचौँ स्थानमा छ।
