माघ ४ गतेदेखि नेपाल कबड्डी लिग

काठमाडौं। माघ ४ गतेदेखि नेपाल कबड्डी लिग (एनकेएल) हुने भएको छ । लिगको खेल तालिका शुक्रबार सार्वजनिक गरिएको छ।

एनकेएलको पहिलो सिजनमा ६ सहरका ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन्। राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा माघ १८ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ।

एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजनामा हुने एनकेएलको उद्घाटन खेलमा काठमान्डु माभरिक्स र पोखरा लेकर्स भिड्ने भएका छन्। विराटनगरले पहिलो खेलमा धनगढी वाइल्डक्याट्सको सामना गर्नेछ भने जनकपुर नाइट्सले बुटवलको हिमालयन रेइडर्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

एनकेएलमा राउन्ड रोबिन लिगमा १५ खेल हुनेछ। शीर्ष चार टिम नकआउट चरणमा प्रवेश गर्नेछन्। लिगका शीर्ष दुई टिमले माघ १४ गते क्वालिफायर खेल्नेछन्। यो खेलको विजेता सिधै फाइनलमा पुग्नेछ।

लिगमा तेस्रो र चौथो स्थानमा रहेका टिमले माघ १४ गते नै एलिमिनेटरमा खेल्नेछन्। यो खेलको विजेता क्वालिफायर २ मा पुग्नेछ। क्वालिफायर १ मा पराजित भएका टिम र एलिमिनेटरका विजेताबीच माघ १६ गते हुने क्वलिफायर २ मा जित हासिल गर्ने टिमले फाइनलमा स्थान पाउनेछ। प्रतियोगिताको फाइनल खेल माघ १८ गते हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *