आइसीसी यु-१९ विश्वकपः नेपालको पहिलो खेल बंगलादेशसँग
काठमाडौं। मलेसियामा हुने यू–१९ महिला विश्व कपमा सहभागी हुने टोलीलाई आज शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले बिदाइ गरेको छ।
माघ ५ गतेदेखि मलेसियामा हुने प्रतिस्पर्धामा सहभागी हुन पूजा महतोको कप्तानीमा रहेको टोलीलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा क्यानका पदाधिकारीले बिदाइ गरे।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को आयोजनामा माघ ५ देखि २० गतेसम्म सञ्चालन हुने विश्व कपको दोस्रो संस्करणमा नेपालसहित १६ टोलीको सहभागिता रहनेछ। एसिया छनोटको खेलमा युएईमाथि ८ विकेटको जितका साथ नेपाल विश्व कपका लागि छनोट भएको थियो।
विश्व कपमा नेपाल समूह ‘डी’ मा परेको छ। यो समूहमा बंगलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड पनि छन्। नेपालले माघ ५ गते बंगलादेशविरुद्ध खेल्ने छ। दोस्रो खेल ७ गते स्कटल्याण्डसँग हुने छ।
यसैगरी समूह चरणको अन्तिम खेलमा माघ ९ गते अस्ट्रेलियासँग नेपाली टोलीले खेल्ने क्यानले जनाएको छ।
विश्व कपको समूह ‘ए’ मा साविक विजेता भारत, श्रीलंका, आयोजक मलेसिया र वेस्ट इण्डिज छन्। समूह ‘बी’ मा इंग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका तथा समूह ‘सी’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन्।
समूह चरणको खेलमा शीर्ष ३ मा रहन सके नेपाल सुपर सिक्सका लागि छनोट हुनेछ। सुपर सिक्सका २ समूह हुनेछन्। सुपर सिक्समा स्थान बनाएमा नेपालले भारत, श्रीलंका तथा वेस्ट इण्डिज जस्ता मुलुकसँग खेल्ने छ। सुपर सिक्सका दुवै ग्रपका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन्।
नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन, किरनकुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना बिक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत छन्।
