खोटाङका युवकको क्यानाडामा भएको दुर्घटनामा मृत्यु
अन्टारियो। टोरन्टोको ब्राम्पटन क्षेत्रमा बस्दै आएका एक नेपाली युवकको सवारी दुर्घटनामा मृत्यु भएको छ। नेपालको खोटाङ घर भइ उनी ब्राम्प्टनमा बस्दै आएका युनेश गिरीको दुर्घटनामा मृत्यु भएको उनका साथीहरुले जनाएका छन्।
मन्ट्रियल क्षेत्रमा ७ जना साथीभाइ मिलेर घुम्न गएको अवस्थामा भएको दुर्घटनामा गिरीको मृत्यु भएको टोरन्टो निवासी नेपाली मूलका क्यानेडियन कानुन व्यवसायी केशव दाहालले उल्लेख गरेका छन्। दाहालले आफ्नो फेसबुक अकाउन्टमा उक्त घटनाबारे जानकारी दिँदै आफू स्तब्ध भएको जनाएका छन्।
उनले लेखेका छन्, ‘क्यानाडा बस्ने हामी सबैको प्यारो भाइ युनेश गिरीको अल्पायुमै अकल्पनीय निधन भएको खबरले स्तब्ध भएको छु। केही दिनअघि मात्र न्यू इएरको पार्टीमा सँगै रमाइलो गरेको अनि दुई दिनअघि फोनमा कुरा भएको मान्छे आज यस धर्तीमा छैन भन्दा पत्याउनै गाह्रो भयो। भाइ तिम्रो बैकुण्ठबास होस्। शोक सन्तप्त परिवारजनमा यो बज्रपात सहने क्षमता भगवान पशुपतिनाथले प्रदान गरुन्।’
गिरीको निधनप्रति उनका साथीभाइ अनि चिनजानका व्यक्तिहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली र परिवारमा समवेदना दिएका छन्। केही साथीले फेसबुकमा यस्तो लेखेका छन्, ‘अपत्यारिलो समाचार। कुरा भइरहेको भाइ। परिवारमा कस्तो बज्रपात भएको होला। भावपूर्ण श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना।’
यस्तै, गिरीका अन्य थुप्रै शुभचिन्तकले घटनाप्रति दुःख व्यक्त गरेका छन्। ‘पत्याउनै गाह्रो। भावपूर्ण श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना’ धेरैले यस्तो लेखेर श्रद्धाञ्जली व्यक्त गरेका छन्।
(क्यानाडाबाट प्रकाशित हुने ‘नेपाल टच’ बाट)
