सुन्दरहरैँचामा भेटिएको बम सेनाको टोलीद्वारा डिस्पोज
विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका-७ मालती पुलनजिकै फेला परेको ‘सिलिन्डर बम’ नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहीबार निष्क्रिय पारेको छ ।
सेनाको टोलीले २ वटा सिलिन्डर बम बिहीबार साँझसम्म लगाएर डिस्पोज गरेको हो । बम रहेको जानकारी आएलगत्तै खोजीका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । खोजीका क्रममा मालती पुलबाट करिब १० मिटर पश्चिममा सुरुङ खनेर राखिएको ४ वटा सिलिन्डर बिहीबार दिउँसो सेनाको टोलीले फेला पारेको थियो ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार सुन्दरहरैँचा–७ को मालती पुल आसपासमा द्वन्द्वकालको बम रहेको सूचना जिल्ला प्रशासन कार्यालय मोरङमा आएको थियो । पूर्वपश्चिम राजमार्गको गोठगाउँदेखि बेलगाछीसम्मको करिब २ किलोमिटर सडकमा बिहीबार बिहान ८ बजेदेखि सवारीसाधन आवागमन तथा मानिसलाई आवतजावतमा रोक लगाएर संयुक्त सुरक्षा फौजले खोजी र निगरानी गरेको थियो ।
ती बम सशस्त्र द्वन्द्वका बेला माओवादीले राखेको जानकारी आएको थियो । बम डिस्पोजका लागि सवारी साधनलाई ‘डाईभर्ट’ गरिएको थियो । बम फेला परेको स्थान वरपर आवतजावतमा रोक लगाइएको थियो ।
पूर्वपश्चिम राजमार्ग विस्तार एवं स्तरोन्नतिको काम भइरहेको छ । राजमार्ग विस्तारको क्रममा उत्खनन् गर्दा पड्किन सक्ने जोखिम रहेको भन्दै बमका बारेमा माओवादीकै कार्यकर्ताले स्थानीय प्रशासनलाई सूचना दिएको थियो ।
प्रहरीका अनुसार ४ वटामध्ये २ वटा सिलिन्डर बम र २ वटा ग्यास भरिएको सिलिन्डर रहेको पत्ता लागेको छ । विस्फोटक पदार्थ भरिएको २ वटा सिलिन्डर बम सेनाको टोलीले डिस्पोज गरेको हो ।
ग्यास भरिएका २ वटा सिलिन्डरलाई थप बुझ्नका लागि भन्दै सेनाले लिएर गएको छ । बम डिस्पोजपछि साँझ ५ः३० बजेबाट राजमार्ग सुचारु भएको प्रहरीले जनाएको छ । राजमार्गको २ किलोमिटर खण्डमा दिनभर यातायात अवरुद्ध भएको थियो ।
बम डिस्पोज गरिसकेपछि राजमार्ग सुचारु भएको छ । साँझबाट यातायातका साधन नियमित रूपमा गुड्न थालेको एसपी चिमरियाले जानकारी दिए ।
पूर्वपश्चिम राजमार्गको सुन्दरहरैँचा मालती पुलमा ४ वटा ‘सिलिन्डर बम’
