विराटनगर महानगरमा सुधार गर्न सरोकारवालाको सुझाव
विराटनगर । विराटनगर महानगरपालिकाको सुशासन, न्याय, सेवा प्रवाह, जनजीविका र विकास निर्माणसँग सम्बन्धित विषयमा सरोकारवालाले ध्यानाकर्षण गराएका छन् ।
नागरिक अभियान समूहले मेयर नागेश कोइरालालाई सुझावपत्र दिंदै ध्यानकर्षण गराएको हो । समूहले विभिन्न विषयसँग सम्बन्धित ४२ बुँदे ध्यानाकर्षण तथा सुझावपत्र पेस गरेको छ ।
महानगरपालिकाभित्र विभिन्न क्षेत्रमा कार्यरत युवा, महिला, विद्यार्थी, वुद्धिजीवी, व्यावसायिक, व्यापारिक र सामाजिक अभियन्ताको भेलाले सुशासन, न्याय, सेवा प्रवाह, जनजीविकाको सवालमा छलफल गरी सुझावपत्र बुझाइएको समूहका अभियन्ता वसन्त अधिकारीले बताए ।
सुझावपत्रमा महानगरपालिका र वडाका नागरिक बडापत्रसम्बन्धी निर्देशिका, २०६९ बमोजिम व्यवस्थित गर्नुपर्ने, सूचना सङ्कलन, भण्डारण र प्रवाहलाई छिटोछरितो र सहज गर्न आधुनिक सूचना तथा सञ्चार प्रविधिको प्रयोग र त्यस अनुरुपको संरचना बनाउनु पर्ने भनिएको छ ।
यस्तै, सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउनुपर्ने, जनस्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर पार्ने सडकछेउमा खुल्ला बिक्री वितरण भइरहेको अस्वस्थकर खाना, खाजाको बिक्री वितरणमा रोक लगाउन उत्पादन, प्रशोधन, ढुवानी, भण्डारण र बिक्री–वितरण स्थलमा सरसफाइको कमीलाई कडाइका साथ नियमन, जरिवाना र प्रोत्साहनको विधि मार्फत खाद्य पदार्थमा स्वच्छता तथा गुणस्तर नियमन गर्नुपर्ने सुझावपत्रमा उल्लेख छ ।
म्याद गुज्रेका, लेवल विवरण पूरा नभएका, जथाभावी रङ तथा रसायन प्रयोग गरेका र ढुसी परेका खाद्य पदार्थ सम्बन्धी समस्या, खाजा घरहरूमा बचेको तेल– घिउलाई पटक पटक प्रयोग गर्ने गरेको र जथाभावी जीवनाशक विषादीको प्रयोग भएका फलफूल र तरकारी सम्बन्धी माछामासु र अन्य खाद्य पदार्थको बिक्रीमा रोक लगाउन पनि माग गरिएको छ ।
यसैगरी, बिजुली र टेलिफोनका खम्बाहरू सडक किनारमा सार्ने एवं अव्यवस्थित तारका लठ्ठाहरूलाई व्यवस्थित गर्नुपर्ने सुझाव पनि समूहले दिएको छ ।
