विदेश पठाइदिन भन्दै ६६ लाख ठग्ने ४ जना पक्राउ
काठमाडौं । आकर्षक रोजगारीमा लगाइदिने भन्दै विभिन्न देश पठाउने नाममा ६६ लाख ८० हजार ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले गोरखा गण्डकी गाउँपालिका–२ घर भई भरतपुर उपमहानगरपालिका–१० बस्ने ४३ वर्षीय कुलबहादुर थापा, गोरखा गण्डकी नगरपालिका–२ घर भई काठमाडौँ नागर्जुन बस्ने ३१ वर्षीय राजन आलेलाई पक्राउ गरेको हो ।
यसैगरी, पर्साको वीरगञ्ज–१६ का ३० वर्षीय जयप्रकाश चौरसिया तथा भक्तपुर सूर्यबिनायक नगरपालिका–५ बस्ने २७ वर्षीय आकाश दुलाल पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा रोजगारीका लागि लैजाने भन्दै रकम लिएर सम्पर्कविहीन भएको पीडितहरूको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
थापा र आलेले अमेरिका पठाइदिने भन्दै ५९ लाख २५ हजार तथा चौरसियाले अजरबैजान पठाइदिने भन्दै एक जनाबाट चार लाख र दुलालले युएई पठाइ दिने भन्दै एकजनाबाट तीन लाख ५५ हजार रकम लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
