सावधान ! अनलाइन ठगीमा पर्नुहोला
काठमाडौँ । सामाजिक सञ्जालका विभिन्न माध्यमबाट ठगी गर्ने क्रम बढेपछि प्रहरीले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । सामाजिक सञ्जाल र अनलाइनको प्रयोग गर्दै अनेक बहानामा ठगी गर्ने काम बढेपछि प्रहरीले सूचना जारी गर्दै सतर्क रहन भनेको हो ।
अनलाइन र सामाजिक सञ्जालमा ठग्ने मनसायले विज्ञापन गर्ने अनि अनेक सुविधा दिने भन्दै ठगीका घटना बढिरहेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले सूचना जारी गर्दै गिफ्ट प्याकेज दिनेदेखि अनलाइनमा कोठा भाडामा खोजिदिने भनेर ठगी कार्य भइरहेको जनाएको छ ।
यस्तो अवस्थामा आफ्ना बैंकिङ खाताको सही सदुपयोग र प्रविधिको सुरक्षित प्रयोग गर्न ब्युरोले आग्रह गरेको हो । फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, मेसेन्जर, भाइबरजस्ता सामाजिक सञ्जाल प्लाटफर्ममा ठगीपूर्ण विज्ञापन तथा लिंकहरू फैलिएको प्रहरीले उल्लेख गरेको छ ।
रोजगारीका विज्ञापनहरू, प्रयोजित लिंकहरू र विभिन्न अनलाइन प्लाटफर्ममार्फत अनधिकृत गतिविधि बढिरहेको ब्युरोको भनाइ छ । अनलाइन मार्केटप्लेस र अनलाइन सपिङ, गिफ्ट प्याकेज, अपुताली, अनलाइनमार्फत पीटीई परीक्षाको डेट बुकिङ, अनलाइनमा कोठा भाडा खोजिदिने लगायतका विषयमा ठगी गर्ने घटना वृद्धि हुँदै गएको ब्युरोले जनाएको छ ।
यसका लागि ईसेवा, खल्तीजस्ता मोबाइल वालेट र बैंक तथा वित्तीय संस्थाबाट बोलेको भनेर ओटीपी मागेर ठगी गर्ने उपाय अपनाइएको प्रहरीको सूचनामा उल्लेख छ ।
ठगीमा प्रयोग गर्न व्यक्तिगत बैंकिङ खाता भाडामा दिने (मनी म्युल अकाउन्ट) जस्ता प्रवृत्तिसमेत बढिरहेको प्रहरीको ठहर छ । त्यस्ता खातामा पैसा ट्रान्सफर गर्न लगाउने गतिविधिबाट सचेत रहन प्रहरीको आग्रह छ ।
ओटीपी नम्बर मागेर हुने वित्तीय ठगीको जोखिमबाट बच्न, व्यक्तिगत बैंक खाताको सही र सुरक्षित प्रयोग गर्न र अनधिकृत व्यक्तिलाई खाता प्रयोग गर्न नदिन ब्युरोले अनुरोध गरेको छ ।

