चर्च ब्वाइजले जित्यो फाल्गुनन्द गोल्डकपको उपाधि

फिदिम । चर्च ब्वाइज युनाइटेडले पाँचथरमा सम्पन्न ११औं फाल्गुनन्द गोल्डकपको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा मछिन्द्र एफसीलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो ।

चर्च ब्वाइजले ट्रफीसहित १० लाख ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त ग‍र्यो भने उपविजेता मच्छिन्द्रले ५ लाख ५ सय ५५ रुपैयाँ पायो ।

फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलको निर्धारित ९० मिनेटमा दुवै टिमले २–२ गोल गरेर बराबरी भएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो ।

सुटआउटमा चर्च ब्वाइजका लागि सुजन डंगोल, रोहन कार्की, छिरिङ लामा, एकराज बुडाथोकी, फाकुन्ले आवायामीले गोल गरे । मच्छिन्द्रका समिरराज थोकर, सौरभ सुब्बा, सनिष श्रेष्ठ र देवेन्द्र तामाङले गोल गरे भने दयानन्द एलाङबामको प्रहार चर्च ब्वाइजका गोलरक्षक कृशल मोक्तानले बचाए ।

त्यसअघि खेलको ४५औं मिनेटमा बिजु भुजेलले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । तर ७१औं मिनेटमा छिरिङ लामाले चर्च ब्वाइजका लागि बराबरी गोल फर्काए ।

८८औं मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै मछिन्द्रलाई २–१ को अग्रता दिलाउँदै उपाधि नजिक पुर्‍याएका थिए । इन्जुरी टाइममा चर्च ब्वाइजका समीर तामाङले गोल गर्दै खेल २–२ को बराबरीमा पुर्याएका थिए ।

चर्च ब्वाइजका फरवार्ड समिर तामाङ प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले स्कुटर पुरस्कार पाए । प्रतियोगिता अवधिभर ६ गोल गरेका समिरले सर्वाधिक गोलकर्ताको पुरस्कार स्वरुप नगद १५ हजार पनि पाए ।

चर्च ब्वाइजकै कृश्चल मोक्तान उत्कृष्ट गोलकिपर, दिपेश गुरुङ उत्कृष्ट मिडफिल्डर र प्रशिक्षक सुमन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । उपविजेता मछिन्द्रका देवेन्द्र तामाङ उत्कृष्ट डिफेण्डर र बिजु भुजेल उत्कृष्ट फरवार्ड घोषित भए । आयोजक फिदिम स्पोर्टिङ क्लबका मनिष क्षेत्रीलाई राइजिङ प्लेयर घोषित भए । उनीहरूले जनही १० हजार रुपैयाँ पाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *