हृदयरोग निवारण प्रतिष्ठानको प्रदेश समिति चयन
झापा । नेपाल हृदयरोग निवारण प्रतिष्ठानको ३३औँ केन्द्रीय सभाले कृष्णभक्त श्रेष्ठ (दिनेश) को संयोजकत्वमा ७ सदस्यीय कोशी प्रदेश कार्य समिति चयन गरेको छ ।
बिर्तामोडस्थित अग्रसेन भवनमा आयोजित सभाले उक्त समिति चयन गरेको हो । समितिका सचिवमा मिलन नेम्वाङ, कोषाध्यक्षमा सुनिता बज्राचार्य चयन भएका छन् । यसैगरी, सदस्यमा डा. राजीव श्रेष्ठ (मोरङ), विजय सन्तोषी राई (धनकुटा), हिराकाजी घले (इलाम) र दिनेशकुमार पोखरेल (झापा) चयन भएका छन् ।
कार्यक्रममा संस्थापक अध्यक्ष डा. मृगेन्द्रराज पाण्डेको नाममा स्थापित मृगेन्द्र सम्झना चिकित्सा गुठी पुरस्कारबाट डा. राजेन्द्र कोजु, डा. राजेश शाह, डा. प्रमिला शाक्य र हरिभक्त भेटवाललाई पुरस्कृत गरिएको थियो ।
नेपालमा मुटु रोग रोकथाम र उपचारमा उल्लेखनीय योगदान गरेवापत उनीहरुलाई पुरस्कृत गरिएको हो । यसैगरी, सवोत्कृष्ट शाखाका रुपमा चितवन शाखालाई पुरस्कृत गरियो भने धादिङ शाखालाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता डा. सत्यनारायण सुवालले गरेका थिए भने प्रमुख अतिथि बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईं सहभागी थिए । यस्तै, विशेष अतिथिका कन्काइ नगरपालिका उपप्रमुख आशा शर्मा शिवाकोटीको सहभागिता थियो ।
कार्यक्रम सञ्चालन महासचिव कोमलराज घिमिरेले गरेका थिए भने प्रतिष्ठानको भावी कार्यदिशाबारे पूर्वअध्यक्ष डा. प्रकाशराज रेग्मीले प्रस्तुति दिएका थिए ।
कोषाध्यक्ष उत्तमलाल श्रेष्ठले संस्थाको आयव्यय प्रस्तुत गरेका थिए । यसैगरी, प्रतिष्ठानको संरचनाबारे दिपेन्द्र पुरुष ढकालले चर्चा गरेका थिए ।
