एक समाहा अनि आमाको गाला

शिरभरी सेतै तुषारो फुल्छ आमाको टाउको भएर
र बहन्छ चिसो नदी
निदानको कुनै पाठशाला छैन
र छैन अस्पताल पनि
कठ्याँङ्ग्रिनु आमाको रुटिन
पौष माघ सर्लक्क वित्छ
खाडी पसेको छोरो फर्कन्छ कि…
आमाका आँखा उतै दक्षिणतिरै हुन्छन्
तुवाँलो बिजेका आँखाहरूमा हातको लाच्छी वा छाना हालेर ।
दिनभरिजसो लागिरहन्छ तुवाँलो
घामछाँया
हात गल्छन् अनि सँगसँगै मन पनि फतक्क हुन्छ
अँगेना डिलैको ओछ्यान अलिकति तातेपछि
बल्ल आँखा लाग्छन्
बिहान उही कुहिरो उही बादल
घाम सँगसँगै दिनभरि छोरा पर्खनु
र अन्त्यमा एक्लै रुचे पनि नरुचे पनि
एक मुठी ढिँडो निल्नु
रुटिन आमाको ।
रुखो अम्लिसो काट्दा पातले चिथोर्छ
माउ गाई बाँ बाँ कराइरहन्छ एककोहोरो
बिहानै शंखहरू बज्छन्
र एफएम, युट्युबहरू बज्छन्
खाडीमा बम पड्केको
आमा सम्झन्छिन् उही छोरो र बिगतको ढाड र उही छोरो
विगतमा बाँस नुहाएर घाँस छिमल्दा
पड्केर बाँस कान्लामुनि झरेको
र बालबाल बाँचेको उही छोरो
आमा मनमनै गम्छिन्
त्यो बम बाँस जस्तै पड्कँदो हो नि?
आमा लामो खुइय्य फाल्छिन्
र एकोहोरो अस्ताउदै गएको घाममा
आफ्नो बेलैमा मास छरेको खसम र
त्यो दुधे बालक छोरो सम्झन पुग्छिन्
ठूलै साँझ परेछ
प…र स्याल ह्वाँ ह्वाँ करायो
घर नजिकैको लामपातेको रुख भएर
झ्ँयाउकिरी बास्यो
अमिलो मन लिएर अँध्यारो गुफाजस्तो
घर पस्छिन् आमा
आँखाको किनारा भएर
गालाको डिल हुँदै एक समाहा झर्यो
चिसो भयो गाला
र फेरि कहिल्यै तातेन आमाको गाला
अहँ फेरि तातिएन आमाको गाला ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *