सुकुना क्याम्पसका विद्यार्थीले सुनाए गीत र कविता
विराटनगर । मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसका विद्यार्थीहरूको प्रतिभा पहिचानका लागि प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा २४ जनाभन्दा बढी विद्यार्थीले कविता वाचन, गीत गायन, नृत्य लगायतका प्रस्तुति दिएका थिए । कार्यक्रममा दुई सयभन्दा बढी विद्यार्थीहरूको सहभागिता थियो ।
क्याम्पसकै अतिरिक्त क्रियाकलाप समिति तथा प्रतिभा पहिचान समितिद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा क्याम्पस प्रमुख अर्जुनराज अधिकारी सहभागी थिए ।
उनले सुकुना बहुमुखी क्याम्पसमा पठनपाठनमा देशमै अग्रपङ्तिका क्याम्पसहरूको लस्करमा रहन सफल कदमी चाल्दै गरेको उल्लेख गर्दै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि क्याम्पस परिवार सदैव तत्पर रहने बताए ।

सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले विद्यार्थीहरूको सिर्जनशीलतामा क्याम्पसको जोड रहेको भन्दै देशका विभिन्न तहतप्कामा यहाँका विद्यार्थीहरू पुग्न सफल भएको कुरा जानकारी गराए ।
कार्यक्रममा सहायक प्रमुख गणेश दाहाल, नेपाली शिक्षण विभागका प्रमुख गेहेन्द्र खनाल, व्यवस्थापन सङ्कायका प्रमुख उमेश उप्रेती, नेपाल पब्लिक क्याम्पस प्राध्यापक सङ्घ, इकाइ समितिका सभापति जनार्दन गुरागाईँ, डा दीपक न्यौपाने, बालकृष्ण गौतम, उर्मिला रिजाल लगायतको पनि सहभागिता थियो ।

रेडियो कार्यक्रम ‘सुकुना प्रवाह’ संयोजक रेखा सुवेदीले सहभागीलाई स्वागत गरेकी थिइन् भने प्रतिभा पहिचान समितिका संयोजक खगेन्द्रराज दाहालले कार्यक्रम सञ्चालन गरेका थिए ।
अतिरिक्त क्रियाकलाप समितिका प्रमुखले सभापतिको भूमिका निर्वाह गरेका थिए । कार्यक्रम प्रतिभा पहिचान गर्न फलदायी सफल भएको को धारणा प्रमुख प्रशासकीय अधिकृत नवराज कोइरालाको थियो ।

