बुबा र भाइको ह*त्यामा संलग्न पक्राउ

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा मृत भेटिएका बाबु छोराको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुलप्रसादका जेठा छोरा मिलन छन् ।

खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रवीण सोमबार मृत अवस्थामा भेटिएका थिए । उनीहरुको शरीरमा चोटपटक लागेको पाइएको थियो ।

उनीहरुको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । हत्या आरोपमा मिलनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार २५ वर्षीय मिलन कुलप्रसादका जेठा छोरा हुन् ।

कुलप्रसाद जिल्ला हुलाक खोटाङका निमित्त प्रमुख थिए । बिदा मनाउन उनी छोराहरु बस्ने सूर्यविनायकमा आएका थिए ।

प्रहरीको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार उनीहरुको हत्या मिलनले गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

महाराजगञ्जबाट पक्राउ परेका मिलनले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले उल्लेख गरेको छ । पारिवारिक तनावका कारण आवेगमा आएर बुबा र भाइको हत्या गरेको उनले प्रहरीमा बयान दिएका छन् ।

प्रहरीमा बयानका क्रममा मिलनले भाइ र बुबाबाट तनाव भएपछि हत्या गरेको बताएका छन् । भाइ प्रवीण कुलतमा फसेको, बुबा पनि डिप्रेशनको बिरामी रहेकाले आफूलाई तनाव भएको उनको भनाइ छ ।

हत्यापछि आफूले आत्महत्याको प्रयास समेत गरेको उनले प्रहरीमा बताएका छन् । घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *