खोटाङका बाबुछोरा भक्तपुरमा मृत भेटिए
मृतक कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रवीण ।
काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका बाबुछोरा भक्तापुरमा मृत फेला परेका छन् । ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य आज सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित डेरामा मृत फेला परेका हुन् ।
खोटाङको हुलाक कार्यालयका निमित्त कार्यालय प्रमुख आचार्य बिदा मनाउने क्रममा भक्तपुर आएका थिए । जेठा छोरा मिलन आचार्य र कान्छा छोरा प्रवीणलाई भेट्न उनी पाँच दिनअघि आएका थिए ।
आचार्य बाबुछोराको शरीरमा चोट देखिएको प्रहरीले जनाएको छ । सँगै बसिरहेका जेठा छोरा सम्पर्कविहीन भएको उल्लेख गर्दै प्रहरीले घटना शंकास्पद पाएपछि अनुसन्धान सुरु गरेको जनाएको छ ।
बाबुछोराको शरीरमा चोट भेटिएको र बाहिरबाट ताला लगाएकाले उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया
