ब्याडमिन्टन ‘अन्तर्राष्ट्रिय च्यालेन्ज’ मा २२ देशका खेलाडी सहभागी हुँदै

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा नेपालमा दोस्रो पटक ‘अन्तर्राष्ट्रिय च्यालेन्ज’ हुने भएको छ । पुस ८ गते सोमबारदेखि ११ गते बिहीबारसम्म काठमाडौंमा प्रतियोगिता सञ्चालन हुने भएको हो । विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एसियाको स्वीकृतिमा योनेक्स सनराइज नेपाल च्यालेन्ज २०२४ मा विश्वका ५ महादेशका नेपालसहित २२ देशका खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

नेपालसहित भारत, अमेरिका, थाइल्याण्ड, सिंगापुर, श्रीलंका, बंगलादेश, भियतनाम, क्यानाडा, मलेसिया, इन्डोनेसिया, इरान, इटाली, युनाइटेड अबर इमिरेट, जाम्बिया, युगाण्डा, इङ्ल्याण्ड, न्यूजिल्याण्ड, म्यानमार, अस्ट्रेलिया, युक्रेन, जापान लगायत मुलुकका खेलाडी सहभागी हुनेछन् ।

च्यालेन्जमा पुरुष–पुरुष एकल तथा युगल तथा मिक्स युगल गरी ५ विधामा हुने स्पर्धामा १ सय ७४ खेलाडी प्रतिस्पर्धामा उत्रने छन् । १५ हजार अमेरिकी डलरको पुरस्कार राशि रहेको प्रतियोगितामा सबै विधाका विजेता, उपविजेता, सेमिफाइनलिष्ट र क्वाटरफाइनलिष्टका खेलाडीहरुले क्रमशः १२ सय डलर, ७ सय २० डलर, ६ सय डलर र ४ सय ८० डलर प्राप्त गर्नेछन् ।

च्यालेन्ज सकिएलगत्तै १२ गते शुक्रबारदेखि १४ गते आइतबारसम्म योनेक्स सनराइज नेपाल जुनियर अन्तर्राष्ट्रिय सेरिज २०२४ आयोजना हुनेछ । यसमा नेपालसहित भारत, न्यूजिल्याण्ड, मलेसिया, थाइल्याण्ड, इरान, युनाइटेड अरब इमिरेट्सका खेलाडीहरुको सहभागिता रहने छ ।

सिरिजमा पुरुष र महिला एकल तथा युगल र मिक्स युगल गरी ५ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । जसमा १ सय ७ खेलाडीहरुले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । सिनियरतर्फ ९ पुरुष र ७ महिला तथा जुनियरतर्फ ८ पुरुष र ८ महिला खेलाडीहरुले प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी गराए ।

योनेक्स सनराइज कम्पनी, सिंगापुरले मुख्य प्रायोजन रहेको च्यालेन्ज र सिरिजको लागत करिब १ करोड १६ लाख रहेको छ । योनेक्सले १५ हजार अमेरिकी डलरका साथ सहभागी नेपाली खेलाडीहरुलाई खेल पोशाक र ४ सेट ब्याडमिन्टन कोर्ट उपलब्ध गराउने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *