त्रिभुवन विश्वविद्यालयका कर्मचारी आन्दोलित
काठमाडौं । स्थायी गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरू आन्दोलित बनेका छन् । विभिन्न ६ बुँदे माग राखेर उनीहरुले धर्ना दिने लगायत आन्दोलन सुरु गरेका हुन् ।
आज शुक्रबार कार्यालय समय सुरु भएपछि कर्मचारीहरु भेला भएर १ घण्टा धर्ना दिए । वर्षौंदेखि कार्यरत कार्यालय सहयोगी, सवारी चालक र सम्पूर्ण करारका कर्मचारीलाई तुरुन्त स्थायी गर्न उनीहरुको माग छ ।
विश्वविद्यालय क्याम्पस एकाइ समिति सभापति अनन्तप्रसाद पौडेलका अनुसार लामो समयसम्म एउटै पदमा कार्यरत कर्मचारीको पदोन्नति पनि हुन नसकेको बताए ।
नेपाल स्वास्थ्य सेवा ऐन अनुसार त्रिविमा कार्यरत नर्सिङ र प्राविधिक कर्मचारीको स्तरवृद्धि तुरुन्तै लागू गर्न कर्मचारीले माग गरेका छन् ।
रिक्त दरबन्दीमा विज्ञापन गर्नुपर्ने, लामो समयसम्म एउटै पदमा कार्यरत कर्मचारीको एक तह पदोन्नती सुनिश्चित गर्नुपर्ने माग आन्दोलनरत कर्मचारीको छ ।
यसैगरी, सञ्चित विशेष तलबी बिदाको रकम सेवा निवृत्त हुँदा सम्पूर्ण कर्मचारीले पाउने व्यवस्था लागू गर्नुपर्ने र विगतमा खोसिएका सेवा सुविधा पुनः सुचारू गर्नुपर्ने माग पनि उनीहरुले अघि सारेका छन् ।
