टिप्ताला भञ्ज्याङसम्म सडक कालोपत्र गरिदिने चीनको प्रस्ताव
ताप्लेजुङ । चीनले ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि टिप्ताला भञ्ज्याङसम्मको सडक कालोपत्र गरिदिने प्रस्ताव राखेको छ । यसका लागि दुई देशका सरकार बीच (जीटुजी) सहमति हुनुपर्ने उल्लेख गरिएको छ ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र चीनको दिङ्जे काउन्टी पार्टी कमिटीका सचिव ताओ मिङजुन नेतृत्वको टोलीबीच यसबारे छलफल भएको हो । त्यस क्रममा चीनका तर्फबा ताओले यस्तो प्रस्ताव गरेका हुन् ।
प्रजिअ शर्माको नेतृत्वमा प्रहरी नायब उपरीक्षक रवि रावल, सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जन, कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अध्यक्ष खगेन्द्र फेम्वोलगायतको टोली सीमा बैठकका लागि दिङ्जे काउन्टी गएका थिए ।
कोरोना संक्रमणअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला र त्यसअघि देवराज ढकाल सीमा बैठकका लागि दिङ्जे गएका थिए । डोरेन्द्रको पालामा दिङ्जे काउन्टीका प्रमुखले ओलाङचुङगोलासम्मको सडक कालोपत्र गरिदिने बताएका थिए ।
त्यसका लागि एक अर्ब रुपैयाँ छुट्याउने वचन पनि उनले दिएका थिए । त्यतिबेला चीनले जीटुजीको प्रस्ताव गरिएको थिएन । अहिले संघीय सरकारबाट भए काम गर्ने प्रस्ताव चीनले गरेको प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ ।
