दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैङ्कलाई बाटो खुला

विराटनगर। मेडिकल व्यावसायी दुर्गा प्रसाईंको पक्षबाट उच्च अदालत विराटनगर, इलाम इजलासमा दायर भएको रिट खारेज भएको छ। रिट खारेजीपछि बैङ्कलाई ऋण असुलीको बाटो खुलेको छ।

बैङ्कले ऋण असुलका लागि ताकेता गरेपछि प्रसाईंको पक्षबाट निषेधाज्ञाको मागसहित रिट दायर भएको थियो । उक्त रिटको अन्तिम सुनुवाइका क्रममा मंगलबार इलाम इजलासका मुख्यन्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले रिट खारेज गरेको हो।

उच्च अदालत विराटनगर, इलाम इजलासका सूचना अधिकारी युगेनकाजी बान्तवाका अनुसार मंगलबार रिट खारेज भएको हो। कुमारी बैङ्कको बिर्तामोड शाखासहितका बैङ्कविरुद्ध प्रसाईको पक्षबाट टीकाराम अधिकारीले दायर गरेको रिट खारेज भएपछि अब बैङ्कलाई ऋण असुल गर्ने बाटो खुलेको छ।

दुई वर्षयता प्रसाईंले बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने र मिनाहा हुने अभिव्यक्ति दिदैँ आएका छन्। यसका लागि अभियानै चलाएका उनी आफ्नै अस्पतालका लागि लिएको ऋणको असुली रोक्नका लागि अदालत पुगेका थिए।

कुमारी बैङ्कको शाखा कार्यालय बिर्तामोडसहित चार वटा बैङ्कलाई प्रतिवादी बनाएर २०८० असार ८ गते निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए। यो रिटमा इलाम इजलासले २०८० असार १० गते कारण देखाउ आदेश जारी गरेको थियो। १८ पटक पेशी चढेको यो रिटको सुनवाई ९ पटक स्थगित भएको थियो।

ऋणीले ऋण नतिरे धितो लिलामीबाट बैङ्कले ऋण असुल गर्न सक्नेछन्। पूर्वाञ्चल क्यान्सर अस्पतालका लागि दुर्गा प्रसाईंले चार वटा बैङ्कबाट २ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएका छन्।

प्रसाईंलाई बिएन्डसी मेडिकल कलेज सञ्चालनका लागि गत चैतमा सर्वोच्च अदालतले बाटो खोलिदिएको थियो। मेडिकल कलेज सञ्चालनको तयारीमा रहेका प्रसाईं भारतीय गुण्डा नाइके लरेन्स बिस्नोइको नाममा नेपाली व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्तिसँग ‘कनेक्सन’ देखिएपछि प्रहरी हिरासतमा छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध फेक भिडियो बनाएर अफवाह फैलाएको भन्दै प्रसाईं गत मंसिर ४ गते पक्राउ परेका थिए। विद्युतीय कारोबार ऐन २०६३ अनुसार दर्ता भएको मुद्दामा उनलाई जिल्ला अदालत काठमाडौंले ४० हजार धरौटीमा छाड्ने आदेश दिएको थियो। संगठित अपराध र आपराधिक लाभको कसूरमाथि छानविन चलिरहेका कारण उनी छुटेनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *