एसीसी एसिया कपको सुपर फोरमा नेपाल
काठमाडौं । एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले मंगलबार भारतसँग अंक बाँडेको छ । यो प्रतियोगितामा अपराजित रहँदै नेपालले सुपर फोर खेल्ने भएको तय भएको छ ।
वर्षाका कारण खेलमा नतिजा नआउँदा नेपाल र भारतले अंक बाँडेका हुन् । नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ३.१ ओभरमा २८-० को अवस्थामा खेल्दा पानी परेपछि खेल रोकिएको थियो । खेल त्यसपछि सुरू हुन सकेन र नतिजा नआएपछि अंक बाँडेका हुन् ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो। नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन् भने एलिसाकुमारी यादवले अविजित रहँदै २० रन बनाइन् ।
भारतका लागि परुनिका सिसोडियाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिएकी थिइन् । नेपालले सोमबार भएको पहिलो खेलमा पाकिस्तानलाई हराउँदै सुपर फोरमा स्थान बनाइसकेको थियो ।
नेपाल समूह ‘बी’ मा दोस्रो स्थानमा रहेर सुपर फोरमा प्रवेश गरेको हो । अब सुपर फोरमा भारत र नेपालसँगै श्रीलंका र बंगलादेश खेल्ने छन् । शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।
