१५ हजारभन्दा धेरैले रोजे ‘इच्छा मृत्यु’
सांकेतिक तस्बिरः पिक्सबे
टोरन्टो। क्यानाडामा २०२३ मा १५ हजारभन्दा बढी मानिसहरूले आफ्नो मृत्युका लागि चिकित्सकको सहायता लिएको हेल्थ क्यानाडाले जनाएको छ। आठ वर्ष अघि २०१६ मा वैधानिक भएको इच्छा मृत्यु लिनेको संख्यामा भइरहेको बृद्धिमा भने उल्लेखनीय रूपमा कमी आएको तथ्याङ्कले देखाएको छ।
‘हेल्थ क्यानाडा’ले बुधबार सार्वजनिक गरेको इच्छा मृत्युसम्बन्धि आफ्नो पाँचौं वार्षिक प्रतिवेदनमा गत वर्ष मृत्यु रोज्नेहरूको संख्या १५ हजार ३४३ रहेको उल्लेख गरेको छ। यो २०२३ मा क्यानाडामा भएको कुल मृत्युको ४.७ प्रतिसत हो।
त्यो २०२२ को तुलनामा १५.८ प्रतिशतले धेरै हो। तर, त्यो २०१९ देखि २०२२ सम्मको औसत वार्षिक वृद्धि दर ३१ प्रतिशतको भने करिब आधा मात्रै हो। तर प्रतिवेदनले इच्छा मृत्युको माग गर्नेको संख्यामा भएको सुस्त वृद्धिले आगामी दिनमा पनि त्यस्तै हुन्छ भन्ने कुराको ग्यारेन्टी भने गर्न नसक्ने निष्कर्ष निकालेको छ।
हेल्थ क्यानाडाले १९ हजार ६६० जनाले इच्छा मृत्युका लागि आवेदन दिएको उल्लेख गरेको छ। २०२३ मा २ हजार ९०६ जनाको प्रक्रिया चलिरहँदा नै मृत्यु भयो भने ९१५ जना आवेदकहरूलाई अयोग्य ठहर्याइएको थियो। यसैगरी, ४९६ ले भने आफ्नो अनुरोध फिर्ता लिएको रिपोर्टमा उल्लेख गरिएको छ।
चिकित्सकको सहयोगमा मृत्यु प्राप्त गर्नेहरूको औसत उमेर ७८ वर्ष थियो। मृत्युका लागि आग्रह गर्नेमध्ये ९६ प्रतिसत उनीहरूको नाजुक स्वास्थ्य अवस्थाकाा कारण मृत्युको नजिक थिए। रिपोर्टकाअनुसार, मृत्यु रोज्नेहरूमा सबैभन्दा धेरै ६४ प्रतिसत क्यान्सर पीडित थिए।
क्यानाडाका १० प्रान्त र ३ टेरिटोरी मध्ये सबैभन्दा धेरै क्युबेकमा ३६.५ प्रतिसत अर्थात ५ हजार ६ सय १ जनाले इच्छा मृत्यु रोजेका थिए। दोश्रो स्थानमा रहेको अन्टारियोमा ४ हजार ६ सय ४४ र ब्रिटिश कोलम्बियामा २ हजार ७ सय ५९ जनाले मृत्यु रोजेका थिए। तथ्याङ्कअनसुार, मृत्यु रोज्नेहरूमा सबैभन्दा धेरै ९६ प्रतिसत ककेशियन र १.८ प्रतिसतसहित पूर्वी एसियाली दोस्रो स्थानमा छन्।
-‘नेपाल टच’ बाट
