भारतका १८ वर्षीय किशोर बने विश्वकै कान्छो चेस च्याम्पियन

काठमाडौँ। भारतका १८ वर्षीय किशोर गुकेश डोम्माराजु विश्वकै कान्छो चेस च्याम्पियन बनेका छन्। सिंगापुरमा भएको अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे) द्वारा आयोजित विश्व चेस च्याम्पियनसिपको उपाधि जित्दै उनले यो कीर्तिमान बनाएका हुन्।

उनले डिफेन्डिङ च्याम्पियन चीनका डिङ लिरेनलाई पराजित गरेका हुन् । उनी विश्वको १८ औं चेस च्याम्पियन बन्न सफल भएका छन् ।

अन्तिम खेलअघि डोम्माराजु र डिङले समान दुई खेल जितेका थिए भने आठ खेल बराबरीमा सकिएका थिए । बिहीबारको अन्तिम खेलमा ७.५ र ६.५ को स्कोरका साथ डोम्माराजुले उपाधि जितेका हुन् । उनले लिरेनलाई ५८ चालमा पराजित गरेका हुन् । जितसँगै उनले २५ लाख अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।

उपाधिसँगै डोम्माराजुले रुसी ग्रान्डमास्टर ग्यारी कास्पारोभको कीर्तिमानसमेत तोडेका छन् । कास्पारोभले सन् १९८५ मा २२ वर्षको उमेरमा यो उपाधि जित्न सफल भएका थिए ।

बाल्यकालदेखि नै चेस खेल खेल्ने चेन्नईका डोम्माराजुले १२ वर्ष ७ महिनाको उमेरमै ग्रान्डमास्टरको उपाधि जितेका थिए । चेन्नईलाई भारतको चेस राजधानी मानिन्छ ।

यसअघि भारतकै विश्वनाथन आनन्द सन् २०१३ मा विश्व चेस च्याम्पियन बनेका थिए । डोम्माराजुले आफू सात वर्षको हुँदा विश्वनाथनले च्याम्पियनसिप जितेको देखेका थिए । त्यही समयदेखि नै डोम्माराजुले विश्व चेस च्याम्पियन हुने सपना पछ्याएका थिए । ‘यो मैले विगत १० वर्षदेखि देखेको सपना भएको उनले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *