नेतृत्व छान्न आज मतदान गर्दै देशभरका पत्रकार
काठमाडौँ । नेपाल पत्रकार महासङ्घको पदाधिकारी चयनका लागि आज शुक्रबार मतदान हुँदै छ । केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान हुन लागेको हो। बिहान १० बजेदेखि सुरु हुने मतदान साँझ ५ बजेसम्म चल्नेछ ।
केही शाखा, प्रदेश र केन्द्रीय समितिका पदाधिकारीहरु भने निर्विरोध रुपमा चयन भइसकेका छन् । बाँकी पदहरुका लागि मतदान प्रक्रिया हुन लागेको हो ।
महासङ्घको केन्द्रीय समिति अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपाध्यक्ष पदका लागि गोविन्दप्रसाद चौंलागाईं, दीपक आचार्य र रोशन पुरीले उम्मेदवारी दिएका छन्।
केन्द्रीय समिति उपाध्यक्ष महिलामा नितु पण्डित र गंगा पौडेलको उम्मेदवारी छ । समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिएका छन्। महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन्।
