मच्छिन्द्रलाई हराउँदै रेडस्टार झापा सेमिफाइनलमा
इलाम । रेडस्टार झापा इलाममा जारी एनआरएनए दोस्रो इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मच्छिन्द्र फुटबल क्लबलाई २-१ गोलले पराजित गर्दै रेडस्टारले सेमिफाइनल पुगेको हो ।
रेडस्टारका आदित्य शाक्यले ३५ औं मिनेटमा गोल गरेका थिए । मच्छिन्द्रको लागि देवेन्द्र तामाङले ६५ औं मिनेटमा गोल गर्दै बराबरी बनाएका थिए । रेडस्टारमा निराजन कार्कीले ८१ औं मिनेटमा निर्णायक गोल गरे ।
बुधबार हुने पहिलो सेमिफाइनलमा आयोजक रेडहर्ष फूटबल क्लब र चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ । बिहीबार अन्तिम सेमिफाइनलमा रेडस्टार झापा र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल र भारतका ८ वटा फूटबल क्लबले सहभागिता जनाएको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । गोल्डकपको फाइनल खेल मंसिर २९ गते हुनेछ ।
