एक करोडभन्दा बढीको गहनासहित ३ जना पक्राउ

काठमाडौं । एक करोड रुपैयाँभन्दा बढीको सुन, चाँदी र नगदसहित कैलालीमा तीन जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई शनिबार बेलुका पक्राउ गरेको हो ।

कैलालीको भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा इलाकाबाट सुनचाँदीका गहनासहित उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार सुर्खेतको चौकुनीका ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर–१ का ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका–११ का ३२ वर्षीय महेश सुनारलाई गहनासहित पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली मातहत बोर्डर आउट पोष्ट (बीओपी) बाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई पक्राउ गरेको हो ।

शंका लागेर जाँच गर्दा उनीहरुको साथमा ८० लाख ७९ हजार ५६१ रुपैयाँ बराबरको ६२० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९१४ ग्राम चाँदी फेला परेको थियो ।

यसैगरी, विभिन्न दरका ६ लाख ११ हजार ६२५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार वटा मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडा पनि उनीहरुको साथमा फेला परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *