कोशी प्रदेश सम्मेलन ‘बहिष्कार’ गर्दै कोइराला चितवनतिर

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै प्रदेशको सम्मेलन ‘बहिष्कार’ गर्ने भएका छन् । पार्टी कोशी प्रदेशको सम्मेलन आज शनिबार विराटनगरमा हुँदैछ ।

सम्मेलनका लागि पार्टी सभापति शेरबहादुर देउवा विराटनगर आइसकेका छन् । कोइरालाले भने शनिबार चितवन जाँदैछन् । चितवनमा हुने दुईवटा शोकसभामा उनी सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

वरीयता विवाद भएपछि कोइराला सम्मेलनमा सहभागी नहुने भएका्े उनीनिकट स्रोतले जानकारी दिएको छ । मञ्चमा सभापतिपछिको वरीयतामा आफू हुनुपर्ने उनको माग भए पनि पार्टीको केन्द्रीय वरीयता निर्धारण अनुसार मर्यादाक्रम राख्ने तयारी भएपछि कोइराला प्रदेश सम्मेलनमा सहभागी नहुने भएका हुन् ।

नेता कृष्ण सिटौला नजिकका उद्धव थापा पार्टीको कोशी प्रदेश सभापति छन्। केन्द्रीय वरीयतामा सभापति देउवापछि उपसभापति पूर्णबहादुर खड्का दोस्रो स्थानमा छन् ।

कोइराला शनिबार पार्टीका पूर्वसदस्य उद्धव लोहनीका बुवा स्व. टेकबहादुर लोहनी र केन्द्रीय सदस्य दिनेश कोइरालाको बुवा स्व. भिष्मकान्त कोइरालाको शोकसभामा सहभागी हुने जनाइएको छ ।

मंसिर १८ गते कोइरालाले विराटनगरमा पालिका सभापतिहरूको भेला आयोजना गरेका थिए । भेलामा १ सय १३ जना पालिका सभापति सहभागी भएको कोइराला पक्षले जनाएको छ । विराटनगर आएका सभापति देउवाले भने उक्त भेलाबारे पत्रकारहरुले राखेको जिज्ञासामा आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *