षडानन्द जयन्तीमा रिजाल र अधिकारी पुरस्कृत
विराटनगर । आबाल ब्रह्मचारी बालागुरू षडानन्द प्रतिष्ठान विराटनगरले १९० औं षडानन्द जयन्तीको अवसरमा साहित्यकार मीना अधिकारीलाई उनको चौथो कृति ‘अमरज्योति षडानन्द’ लाई आज एक समारोहबीच जीवनाथ-रमानाथ- पिता खड्गप्रसाद-षडानन्द स्मृति पुरस्कार २०८१ बाट पुरस्कृत गरेको छ।
समाजसेवी राजेन्द्रप्रसाद चापागाईले आफ्ना पूर्वजको सम्मानमा स्थापना गरेको उक्त पुरस्कारको राशि १४ हजार छ । उक्त पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका अध्यक्ष कोमलकृष्ण अधिकारी र प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. महेशराज दाहाल लगायत पुरस्कार संस्थापक सहितले पुरस्कार हस्तान्तरण गरे । यसैगरी, समाजसेवी इन्दिरा रिजाललाई षडानन्द अधिकारीलाई चिनाउन गरेको योगदानको कदर गर्दै ‘षडानन्द समाज सेवा सम्मान २०८१’ प्रदान समर्पण गरियो।
इन्दिरा रिजाल र उनका परिवारबाट षडानन्द प्रतिष्ठान इटहरीलाई प्रतिष्ठान स्थापनाको लागि भौतिक सहयोगका साथै भोजपुरको दिङ्लामा अवस्थित षडानन्द गुरूकुलीय पाठशालालाई आर्थिक सहयोग प्रदान गरेर षडानन्दप्रति सद्भाव र सहयोग गरे बापत सम्मान गरिएको संस्थाका सचिव दिङ्लाली कान्छोले बताए ।

कार्यक्रममा सुदीप अधिकारीद्वारा लिखित अनुसन्धानात्मक कृति ‘नेपालको विविध पृष्ठभूमि र योगदानमा षडानन्द’ र साहित्यकार मीना अधिकारीद्वारा रचित चौथो काव्य ‘अमरज्योति षडानन्द’ लोकार्पण गरिएको थियो। विमोचित कृतिहरू माथि प्रा. प्रतिमा निरौलाले आफ्ना टिप्पणी प्रस्तुत गरेकी थिइन्।
कार्यक्रमलाई उपाध्यक्ष रमेशकुमार चापागाई, प्रदेश सांसद माननीय बिनोद बान्तवा, सचिव दिङ्लाली कान्छो, डा. भेषप्रसाद धमला, विराटनगर महानगरकी उपमेयर शिल्पा निराला कार्की, वडा अध्यक्षद्वय काजीबहादुर बस्नेत र बासुबहादुर बस्नेत, प्रा. डा. नृपेन्द्र सिंह खत्री, नेपाली कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाई, साहित्यकार बलराम पोख्रेल, मीना अधिकारी, इन्दिरा रिजाल, प्रमुख अतिथि प्रा. डा. महेशराज दाहाल लगायत अध्यक्ष कोमलकृष्ण अधिकारीलाले सम्बोधन गर्दै षडानन्द अधिकारीको योगदानलाई स्मरण गर्दै उनको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए।


