पोल्याण्ड र क्रोएसिया पठाइदिने भन्दै ठगी, २ जना पक्राउ
काठमाडौँ । आकर्षक तलब पाउने रोजगारीमा लगाइदिने लोभ देखाएर रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। क्रोएसिया र पोल्याण्ड जस्ता मुलुकमा रोजगारी दिलाइदिने भन्दै ठगी गरेको पाइएको प्रहरीको भनाइ छ।
पक्राउ पर्नेमा लमजुङ बेसीशहर नगरपालिका–८ घर भई काठमाडौँ टोखा नगरपालिका–६ बस्ने २० वर्षीय सुमित बस्याल र खोटाङ रूपाकोट मझुवागढी गाउँपालिका–८ घर भई काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–४ पासीकोट बस्ने ३१ वर्षीय इच्छा गुरूङ छन् ।
सुमितले क्रोएसिया पठाइदिन्छु भन्दै २ जनाबाट २ लाख ४० हजार रूपैयाँ र इच्छाले पोल्याण्ड पठाइदिने एक जनाबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ।
ठगिएका पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमितलाई काठमाडौँ भाटभटेनीबाट र इच्छालाई काठमाडौँ पासीकोटबाट पक्राउ गरेको हो ।
