झापाको अर्जुनधारामा कृष्ण प्रणामी स्वर्ण मन्दिर बन्ने
झापा । झापाको अर्जुनधारा–६ स्थित सद्गुरु श्री देवचन्द्र सदनमा करिब १० करोड रुपैयाँ लागतमा कृष्ण प्रणामी स्वर्ण मन्दिर बनाइने भएको छ ।
अनन्त श्री विभूषित जगतगुरु १०८ कृष्ण मणिजी महाराजश्रीले बुधबार आयोजित कार्यक्रमका बीच मन्दिरको शिलन्यास गरे । मन्दिर शिलन्यास कार्यक्रमकै दिन सवा करोड रुपैयाँभन्दा बढी रकम सहयोगको प्रतिबद्धता आएको सद्गुरु सदनले जनाएको छ ।
सद्गुरु सदनका सचिव पुष्प आचार्यका अनुसार मन्दिर नेपालकै नमुना हुनेछ । अत्याधुनिक, आकर्षक, मनमोहक, इतिहास झल्कने विभिन्न मूर्तिजडित स्वर्ण मन्दिरको गजुर ६० फिट अग्लो हुने जनाइएको छ ।
पार्किङ सुविधा, बगैँचा, आकर्षक प्रवेशद्वार, पानीको फोहोरा, कृष्णजीका लीला, झाँकीहरुको मूर्ति, कालीनागमाथि कृष्णजी नाचेको मूर्तिलगायत मन्दिरमा निर्माण गरिने निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद बजगाईंले जानकारी दिए ।
११ कठ्ठा जग्गामा बन्न लागेको स्वर्ण मन्दिरको पहिलो चरणको निर्माण तीन वर्षभित्र सक्ने लक्ष्य छ । सदगुरु सदनको बृहत्तर परियोजनाअन्तर्गत सामुदायिक भवन निर्माणाधीन अवस्थामा छ ।
सामाजिक कार्य, विवाह, सभा, सम्मेलनका लागि निर्माणधीन भवनको काम ७५ प्रतिशत किएको सदनको सौन्दर्यकरणका संयोजक तथा निर्माण समिति उपाध्यक्ष गणेश प्याकुरेलले जानकारी दिए ।
