स्रष्टाहरू स्वर्गीय हुँदैनन्
स्रष्टाहरू स्वर्गीय हुँदैनन् अर्थात् भौतिकरूपमा मरे पनि कर्मले जीवित रहन्छन् । स्रष्टाका कृतिहरू प्रायः कालजयी हुन्छन् । यो धराधाममा कुनै चिज स्थायी छ भने केवल व्यक्तिका सृजनाद्वारा अमरत्व प्राप्त गरेका स्वयं व्यक्तिहरू मात्र छन् ।
तिनै विभिन्न सृजना क्षेत्रका स्रष्टा र द्रष्टाहरूलाई उनीहरूका सृजनशील कर्मको योगदानको स्मरण गर्दै हरेक वर्ष उनीहरूकै शुभचिन्तकहरूद्वारा दुई पटकसम्म सम्झने स्वेच्छिक परम्परा छ ।
एउटा जन्मदिवसको अवसरमा र अर्काेचाहिँ स्मृति दिवसको अवसरमा । उनीहरूका सृजनशील क्षेत्रमा सम्बन्धित स्रष्टाहरूद्वारा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरेको पाइन्छ । १९ मंसिर बुधबारका दिन नेपाली साङ्गीतिक आकाशका उज्ज्वल नक्षत्र स्वरस्राट नारायणगोपालको ३४औँ स्मृति दिवस थियो ।
आफू साङ्गीतिक क्षेत्रमा (गीत, सङ्गीत र आवाज) कुनै पनि सन्दर्भले चासोको विषय नसुहाए तापनि केही शब्दका थुप्रामा स्वरसम्राट नारायणगोपालका गायन, सङ्गीत र शब्दका गायत्री सापटी जप्ने जमर्काे मात्र हो यो ।
उनका आवाजले घचेटिएको म र मेरो हृदयको हरेक तह र तप्काहरूमा कर्णप्रियता फाल हानेर आत्महत्या गर्छन् त म के गरूँ ! सायद सङ्गीतका आलापहरू कर्णप्रिय भएर जब हृदयकै बलेँसीबाट बग्न थालेपछि नै हो मैले उनका गीतहरूसँग मुक्त प्रेम गरेको ।
त्यसो त हामीले खोजको साङ्गीतिक आनन्द र गायकगायिका यो भूमण्डलीकरणको जमानामा नारायणगोपालहरू होइन रहेछन् भन्ने प्रमाण सहरदेखि गाउँसम्म अर्थात् मोफसलसम्म पनि पुराना भैकन पनि कवितात्मक भाव भएका गीत नसुन्नु र पारिवारिक माहोलमा पनि त्यस्ता स्रष्टा र रचनाका बारेका जानकार अभिभावकले समेत भावी सन्तानलाई हस्तान्तरण गर्न नचाहनु प्रमुख हो ।
हाम्रो मानसिकता नै पनि उल्टो छ जस्तो कि उमेरको आधारमा गीत मन पराउनुपर्छ भनेर रटाउनेहरूको मनोविज्ञान भन्दा हृदयसत्ताले स्वीकार गरेको भावगाम्भीर्य गीत र स्रष्टा मात्र कालजयी हुन्छन् भनेर बुझियो भने बरु सहज होला भन्ने लाग्छ ।
कमसेकम स्वरसम्राट नारायणगोपालका बारे सामान्य भए पनि नेपाली सस्वरपठन गर्न सक्ने जोकोही सङ्गीतप्रेमी व्यक्तिहरूलाई जानकारी होस् भन्ने उद्देश्यले मात्र यो लेख तयार पार्ने जमर्काे गरेको हुँ ।
कुनै व्यक्ति गायक बन्छ भने ऊ अवश्य पनि ईश्वरको हृदयसत्ता हो । गाउनका लागि शब्द चाहिन्छ र शब्दका लागि लय अर्थात् सङ्गीत चाहिन्छ । यी सब चिज सात्विक साधनाबाट प्राप्त हुन्छन् भने गायन र गायकी ईश्वरीय कृपा नै हो जसलाई वाङ्मयी आवाजको कण्ठ प्राप्त भएको हुन्छ ।
साधनागृह हृदयको कोमलता हो भने एकाग्रता, कल्पना र अनुभूति लयका भाषा हुन् । भाषाकै चित्तचौतारोमा शब्दका आरोहअवरोह दौडिएपछि वाद्ययन्त्रले यात्राका रेखागणित उमार्छन् र त्यही बेला अवतरण हुन्छिन् शब्दहरू कर्णप्रिय गीत बनेर ।
साहित्यिक एवमं साङ्गीतिक स्रष्टा प्राडा कृष्णहरि बरालको ‘गीत कसरी लेख्ने ?’ पुस्तकमा उल्लेख गरिएअनुसार गीतको व्युत्पत्तिगत तात्पर्य, गीतका परिभाषा र विशेषता यस्ता छन्–
‘गीत संस्कृत स्रोतको शब्द हो । गै धातुमा क्त लागेर बनेको यस शब्दले गाइएको तथा गाउन मिल्ने रचनालाई बुझाउँछ । गै धातुमै अन (ल्युट) प्रत्यय लागेर बनेको गानम् बाट विकसित ‘गाना’ शब्दले पनि गीत तथा भजनलाई नै बुझाउँछ ।
गीतलाई बुझाउनका लागि अङ्ग्रेजीमा ‘सङ’ तथा लिरिक अनि लिरिक्स शब्द प्रयोग गरिन्छ । ‘सङ’ शब्दले सामान्यतयाः गाइसकिएको रचनालाई बुझाउने गरेको पाइन्छ भने गाउने उद्देश्यले लेखिएको रचनालाई पनि गीत वा ‘सङ’ नै भनिएको पाइन्छ ।’
त्यसो त गीत के हो भन्ने बारे विभिन्न विद्वान्हरूले अनेकन परिभाषा तथा विशेषता उल्लेख गरेका छन् ।
‘सङ्गीतसँग स्वरको सामञ्जस्य भएको वा गरिने शब्दहरूको लयबद्ध अभिव्यक्ति नै गीत हो ।’
(Encyclopedia Americana, Volume.25 )
सामान्यतयाः गीत भाषाका फाँटको त्यस्तो भावुक र लयात्मक अभिव्यक्ति हो, जसलाई सङ्गीतसँग कविताको समागमको तरल झङ्कृति पनि भन्न सकिन्छ । (वासुदेव त्रिपाठी , प्रियतमाको भूमिकाबाट)
जीवन भोगाइका क्रममा प्राप्त भाव र अनुभूतिको कलात्मक , संवेगात्मक र गेयात्मक प्रस्तुति नै गीत हो । (मोहनहिमांशु थापा, साहित्य परिचय)
वक्ताको एउटै भाव तथा मनस्थिति सरलताका साथ अभिव्यक्त भएको अनुभूतिप्रधान आख्यानात्मक आत्मपरक रचनालाई गीत भनिन्छ, जुन सङ्क्षिप्त हुनाका साथै खास प्रकारको लय तथा सङ्गीत व्यवस्थामा आबद्ध हुन्छ । (कृष्णहरि बराल, गीतः सिद्धान्त र इतिहास)
प्राडा कृष्णहरि बरालले आफ्ना कृति ‘गीत कसरी लेख्ने ?’ पुस्तकमा भाव तथा विषयवस्तु, कल्पना, सङ्गीत, बिम्ब तथा प्रतीक र भाषा आदि अङ्गहरूको संयोजनबाट मात्र एउटा सफल र सुन्दर गीत लेख्न सकिने गीतलेखनका तत्वहरूसमेत उल्लेख गरिएका छन् ।
पुनः चुरोतिर–
स्वरसम्राट नारायणगोपाल (वि.सं. १९९६ असोज १८–२०४७ मङ्सिर १९) काठमाडौँको किलागलमा आशागोपाल तथा रामदेवी गुरुवाचार्यका पुत्ररत्नका रूपमा नेपाली साङ्गीतिक आकाशका एक उज्ज्वल नक्षत्र नै हुन् ।
दार्जिलिङ निवासी पेमाला लामालाई आधा आकाश स्वीकारेका नारायणगोपालले सुगम सङ्गीतमै सङ्घर्ष गरिरहेका वरिष्ठ गायक, सङ्गीतकार एवम् गीतकार गोपाल योञ्जनलाई मितको रूपमा पाएपछि र मितकै धेरै जस्ता शब्दहरूले दुबैलाई उचाइमा पुर्याएको पाइन्छ ।
दार्जिलिङको घुम पहाडमा कवि एवम् गीतकार ईश्वर बल्लभले अग्नि साक्षी राखी लगाइदिएको मितको साइनो नेपाली आधुनिक गीतको शिखर सम्बन्धमा कायम भयो । उनका गीतमा जे असंभव थियो त्यो पनि उपलब्ध छन् ।
सांस्कृतिक चेतना, प्रेमप्रतिको चोखो समर्पण, मानवीय अन्तर्व्यथा, राष्ट्रिय भावनाको संरक्षण, स्वाभिमानीपन र स्वाबलम्बीपन आदि विशेषता उनका गीतहरू बग्रेल्ती भेटिन्छन् । शब्दसङ्गीतका हिसाबले धेरै गीतचाहिँ आफ्नै मित र मितदाजु गोपाल र कर्मका गाएका देखिन्छन् भने रत्नशम्सेर थापा, भूपी शेरचन, ईश्वर बल्लभ, नगेन्द्र थापा, कालीप्रसाद रिजाल, दिव्य खालिङ, डा. राममान तृषित, क्षेत्रप्रताप अधिकारी, अम्बर गुरुङ, दिनेश अधिकारी, चाँदनी शाह, हरिभक्त कटुवाल, किरण खरेल, नीर शाह, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, यादव खरल, चेतन कार्की, माधवप्रसाद घिमिरे, किरण खरेल, धर्मराज थापा, भैरवनाथ रिमाल ‘कदम’, तुलसी घिमिरे, ध्रुवनारायण मानन्धर, कुसुम गजमेर, डा. दीर्घसिँह बम, प्रदीप रिमाल, लक्ष्मण लोहनी, रबीन्द्र शाह, मनबहादुर मुखिया, बालकृष्ण सम आदिका शब्द रचनामा स्वर दिएका छन् ।
त्यसैगरी कति शब्दमा आफ्नै सङ्गीतबाहेक भीम विरागको शब्द सङ्गीत, दीपक जङ्गम र अम्बर गुरुङको, शब्द सङ्गीत, नातिकाजी, शम्भुजित बास्कोटा, रञ्जित गजमेर , चन्द्रराज शर्मा, शान्ति ठटाल, भूपेन्द्र रायमाझी जस्ता कालजयी स्रष्टाहरूका शब्द, सङ्गीत र रचनामा आफ्ना स्वर दिएर नेपाली साङ्गीतिक वाङ्मयलाई शिखरमा पुर्याएका छन् ।

नेपाली साङ्गीतिक इतिहासमा जनताबाटै प्राप्त गरेका विशेषणमूलक पद भनेकै स्वरस्राट हो । वि.सं. २०२८ सालमा पोखराको एउटा साङ्गीतिक कार्यक्रममा पहिलो पटक कवि भूपी शेरचनले स्वरस्राट नारायणगोपालको सम्बोधनले बोलाएको क्षणपछि कुनै बेला राजाद्वारा गोर्खा दक्षिणबाहु प्राप्त गर्दासमेत उही सम्बोधनले बोलाइको थियो ।
त्यसो त स्वरस्राट नारायणगोपाल मुढी स्वभावका थिए भनिएको छ । उनले शब्दको मर्म र भावलाई पहिचान गरेर मात्र गाउनेतिर योजना बनाउथे रे । विशेष गरी कविहरूका आलङ्कारिक र बिम्ब प्रतीकयुक्त शब्दहरू उनका रोजाइमा परेको देखिन्छ । आफैँ सङ्गीतका साधक भएर पनि धेरै साधनापछि मात्र रेकर्डको तयारी गरेका उदाहरणहरू पढ्न पाइन्छ ।
रत्नशम्शेर थापाको शब्द र आफ्नै सङ्गीतमा रेडियो नेपालमा पहिलो पटक रेकर्ड गाजलु आँखा…बोलको गीत उनको जीवनकै पहिलो सङ्गीतबद्ध गीत मानिएको छ । उनका गीतहरू छान्नु र छाड्नुको कुनै औचित्य छैन तैपनि स्वर्गकी रानी, अल्झेछ क्यारे, दुइटा फूल देउरालीमा, बिछोडको पीडा, सानै हुरीमा, सँगाल घुम्टोहरू, बिर्सेर फेरि, झरेको पातझैँ भयो, यसैगरी बिताइदिन्छु, मैले पुण्य मन पराएँ, लौ सुन म भन्छु, चुमेर पानाभरि, गल्ती हजार हुुन्छन्, तिम्रो जस्तो मुटु, मेरो गीत मेरै प्रतिबिम्ब होइन, तिमीले पनि म जस्तै, कसरी म भुलेँ, सधैँ नै म हाँसे, प्रेयसीका यादह।, साउनको झरी बनी, एउटा मान्छेको मायाले कति, म त लालीगुराँस भएँछु, पोखिएर घामको झुल्का, ईश्वर तैँले, प्रेमको माला, जुन फूल मैले, छोरीको जन्म, हिमाल सरि, सिरिमा सिरि, यो मुटुलाई, जन्मेर कोखमा कसैको, विरही माया, श्रद्धाको फूल जस्ता अनगिन्ती गीतहरू चर्चाका शिखरमा छन् । असाध्यै लोकप्रिय छन् ।
२०१२ साल अर्थात् करिब १६ वर्षको उमेरमै रङ्गमञ्चीय कार्यक्रममा प्रवेश गरेका नारायणगोपालले २०१८ सालमा रेकर्डको पहिलो खुड्किलो चढेको पाइन्छ । २०२०–२०२२ सम्म एमएस युनिभर्सिटी बरोडामा शास्त्रीय सङ्गीत अध्ययन गरेका थिए भने २०२३–२०२४ सालमा रेडियो नेपालद्वारा आयोजित प्रतियोगितात्मक आधुनिक सङ्गीत सम्मेलनमा सर्वाेत्कृष्ट सङ्गीतकार तथा सर्वाेत्कृष्ट गायक घोषित भई तत्कालीन श्री ५ महेन्द्र वीरविक्रम शाहदेवको बाहुलीबाट पदक प्राप्त थिए ।
गायनको सन्दर्भमा मुनामदन र मालती मङ्गलेसमेत गरी १४ वटा गीतिनाटक तथा ६ वटा कथानक चलचित्रमा उनले स्वर दिएका छन् । २०२७ सालमा संस्कृति विभागको सङ्गीत निर्देशनमा नियुक्ति भएपश्चात् २०३३ सालमा सांस्कृतिक संस्थानको सञ्चालक समिति सदस्य पनि भए ।
त्यसैगरी ‘बागीना’ साङ्गीतिक त्रैमासिकको प्रकाशक तथा सम्पादकको कार्यभार सम्हालेर सङ्गीतिक क्षेत्रको श्रीवृद्धिमा थप टेवा पुर्याए । टोली नेता भई पर्यवेक्षक एवम् सद्भावना मण्डलको सदस्यको रूपमा विश्वका विभिन्न देशहरू जस्तै– सोभियत संघ, उत्तर र दक्षिण कोरिया, गणतन्त्र चीन, हङकङ, थाइल्याण्ड, भारत लगायत देशको भ्रमण गरेका थिए ।
विभिन्न साङ्गीतिक संस्थाको कार्यक्रममा निर्णायक सदस्य र २०३६–२०४०–१०–४ सम्म सांस्कृतिक संस्थानको महाप्रबन्धकसमेत भएर आफ्ना कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका थिए । यी र यस्तै कर्मका कारण विभिन्न समयमा विभिन्न संस्थाद्वारा सम्मानित एवम् विभूषित पनि बनेका छन् ।
–रेडियो नेपालद्वारा आयोजित सङ्गीत तथा गायन प्रतियोगितामा सर्वाेत्तम सङ्गीतकार एवम् गायन क्रमशः २०२३ र २०२४
–रत्न रेकर्डिङ संस्थानद्वारा आयोजित रत्न रेकर्ड पुरस्कार २०२९ (कतैकतै २०३९ पनि पाइएको)
–गोरखा दक्षिणबाहु (चौथो) पुरस्कार २०३३
–नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार २०४०
–विशाल बजार लायन्स क्लब काठमाडौँद्वारा लायन्स अवार्ड २०४३
–छिन्नलता पुरस्कार २०४४
–मदन पुरस्कार गुठीद्वारा जगदम्बाश्री पुरस्कार २०४५
–अन्तर्राष्ट्रिय मञ्च पत्रिका, वर्षको सर्वश्रेष्ठ पुरुष पुरस्कार २०४५
–उर्वशी रङ्ग पुरस्कार २०४७
–त्रिशक्तिपट्ट तेस्रा २०४७ मरणोपरान्त (कतैकतै २०४८ पनि पाइएको)
स्वरस्राट नारायणगोपाल वास्तवमै नेपाली साङ्गीतिक आकाशमा चम्किरहने नेपाली मन मुटुका अनवरत ढुकढुकी हुन् । नेपाली सुगम सङ्गीतको न भूत न भविष्य, बेजोड प्रतिभा हुन् नारायणगोपाल ।
उनका गीतहरूमा जुनसुकै उमेरका जीवनजगत्लाई पनि अनुराग छोड्न सक्ने ताकत रहेको हुन्छ । मेरा हृदयसत्तामा सधैँ सधैँ पहाड बनेर र सम्पूर्ण सङ्गीतप्रेमी मनमुटुमा बस्न सफल स्रष्टा नारायणगोपालप्रति हृदयतः भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु । जय सङ्गीत ।
सन्दर्भ स्रोत
–कालजयी स्वरहरू २०४७
संकलन एवम् खोजकर्ता पेमाला गुरुवाचार्य र प्रकाश सायमी
सम्पादन, डा. वानीरा गिरी र उषा शेरचन–विप्लव प्रतीक
–प्राडा कृष्णहरि बराल,
गीत कसरी लेख्ने ?
–विभिन्न पत्रपत्रिका तथा अन्तर्वार्ताहरू

आदरणीय गायक नारायण गोपालज्यु बारे कवि नदी जी को आलेख नदी जस्तै सलल बगेको तथ्य र विश्लेषणपरक छ।
नदीजी बधाईका पात्र छन,,,,स्व. नारायण गोपाल प्रति हार्दिक श्रद्धा सुमन।।