सरकारी नम्बर प्लेट लगाएर गाँजा तस्करी
विराटनगर । प्रहरीले निगरानी बढाएर कारबाही गर्न थालेपछि गाँजाको ओसारपसार र कारोबारमा संलग्न समूहले तस्करीको अनेक उपाय लगाउन थालेका छन् । पछिल्लो एक घटनामा उनीहरुले निजी र भाडाको गाडीमा सरकारी नम्बर प्लेट लगाएर गाँजा तस्करी गरेको पाइएको छ ।
सुनसरीको धरानमा गाँजा तस्करी गर्न सरकारी नम्बर प्लेट लगाइएका गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस क्रममा प्रहरीले मंगलबार साँझ गोली समेत चलाएको थियो ।
धनकुटाबाट धरान आउँदै गरेका स्कोरपिओ गाडीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ४ राउण्ड गोली प्रहार गरेको थियो । गोली हानेर गाँजा लोड गरिएका बा १ झ ४६०५ र बा १ झ ५१२७ नम्बरका दुईवटा गाडी नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगू सहितको टोली खटिएको थियो । सवारी साधनहरु जाँच गर्ने क्रममा सरकारी नम्बर प्लेट राखिएको ५१२७ नम्बरको गाडीलाई चालकले भगाएका थिए ।
प्रहरीले गोली प्रहार गरेपछि भागेको उक्त गाडी धरान–१३ को सूर्य मार्गमा छाडेर चालक फरार भएको एसएसपी दाहालले बताए । गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सरकारी नम्बर प्लेट राखिएको अर्को ४६०५ नम्बरको गाडीलाई प्रहरीले चालकसहित नियन्त्रणमा लिएको छ । चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मा पक्राउ परेका हुन् ।
दुवै गाडीमा ६ सय ९० किलो गाँजा फेला परेको थियो । प्रहरीले निगरानी नगर्ने ठानेर गाडीमा सरकारी नम्बर प्लेट लगाइएको उल्लेख गर्दै दाहालले दुवै गाडी सरकारी नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
