‘कला साहित्य उत्सव’ को पाँचौँ संस्करण फागुनमा
झापा । काँकडभिट्टामा फागुन १४ गतेदेखि ‘कला साहित्य उत्सव’ आयोजना हुने भएको छ । रिडर्स झापाले आयोजना गर्दै आएको यो उत्सवको पाँचौँ संस्करण हुनेछ ।
फागुन १४ गते सुरु भएर उत्सव १६ गते समापन गरिने जनाइएको छ । यसपटकको संस्करणमा पहिलेभन्दा कार्यक्रमहरू केही फरकस्वरूपमा प्रस्तुत गरिने आयोजकले जनाएका छन् ।
यस वर्षको उत्सवमा पर्यावरण विमर्शबारे विगतमाभन्दा घनीभूत र विस्तारितरुपमा छलफल हुने रिडर्स झापाका अध्यक्ष शैलेस दाहालले जानकारी दिए ।
कला साहित्य उत्सवमा कृषक, शिक्षक, कलाकार, लेखक, बौद्धिक, सञ्चारकर्मी, विद्यार्थी लगायत विभिन्न क्षेत्रमा क्रियाशील समूहलाई सक्रिय सहभागी गराउने प्रयत्न गर्ने रिडर्स झापाले जनाएको छ ।
रिडर्स झापाले २०६९ सालदेखि प्रत्येक दुई वर्षमा आयोजना गर्दै आइरहेको कला साहित्य उत्सव २०७७ सालमा आयोजना हुन सकेको थिएन । त्यसपछि कोभिड महामारीका कारण रोकिएको उत्सव यसवर्ष आयोजना हुन लागेको हो ।
