फाइनल पुग्न पाकिस्तानसँग खेल्दै नेपाल
काठमाडौँ । पाकिस्तानमा जारी ब्लाइण्ड टी–२० क्रिकेट विश्वकपमा नेपालले आज आइतबार सेमिफाइनल खेल खेल्दै छ । मुल्तानमा हुने पहिलो सेमिफाइनल खेलमा नेपालले पाकिस्तानसँग खेल्न लागेको हो । नेपाल पहिलोपटक ब्लाइण्ड क्रिकेट विश्वकपको सेमिफाइनलमा पुगेको हो ।
खेल अपरान्ह पौने १२ बजेदेखि सुरू हुनेछ । नेपालले लिग चरणमा दुई जित र तीन हारसहित ४ अंक र भारतसँगको खेलमा वाकओभरमार्फत पाएको ६ अंकसहित शीर्ष चारमा रहँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।
नेपाल श्रीलंकासँग ७० रनले, बंगलादेशसँग ६७ रनले पराजित भएको थियो । त्यसपछि अफगानिस्तानलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको नेपालले दक्षिण अफ्रिकालाई ११ रनले हराएको थियो ।
पाकिस्तानसँग नेपाल लिग चरणमा १० विकेटले सहजै पराजित भएको थियो । लिग चरणमा अपराजित रहँदै शीर्ष स्थानमा रहेको पाकिस्तान उपाधिकै दाबेदार टोली हो ।
सेमिफाइनलमा घरेलु टोलीलाई कडा चुनौती दिने गरी मैदान उत्रने नेपाली टोलीका मुख्य प्रशिक्षक नहेन्द्र निरौलाले बताए । कप्तान रमेश बानियाले पनि पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताए ।
