मुस्ताङमा भेटियो नयाँ चरा ‘गेरुमुहार चाँचर’

काठमाडौँ । मुस्ताङमा नयाँ चरा ‘गेरुमुहार चाँचर’ भेटिएको छ । माथिल्लो मुस्ताङ क्षेत्रको ३ हजार एकसय मिटर उचाइमा चराविद् शंकर तिवारीले फेला पारेका हुन्।

चरा अवलोकनका लागि पदयात्रा गर्ने क्रममा अन्नपूर्ण संरक्षण क्षेत्रको चेले गाउँमा रहेको स्याउ बगैंचामा उनले उक्त चरा देखेर तस्बिर खिचेका थिए । गत वैशाख १८ गते बिहान उनले उक्त चरा देखेको जनाएका छन् ।

नेपालमा नयाँ चराको अभिलेख राख्ने नेपाल बर्ड रेकर्ड कमिटीलाई उनले भौगोलिक अवस्था र तस्बिरसहित विस्तृत जानकारी गराएका थिए । कमिटीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र राष्ट्रिय अन्तर्राष्ट्रिय चरा विशेषज्ञसँग छलफल गरी सुझाव लिएर साथै अनुसन्धान गरेर नेपालका लागि नयाँ चरा भएको निष्कर्ष निकालेको थियो ।

कमिटीका अध्यक्ष डा. तुल्सी सुबेदीका अनुसार अंग्रेजीमा Naumann’s Thrush भनिने उक्त चरालाई नेपाली नाम ‘गेरुमुहार चाँचर’ दिइएको हो । मुहार र तल्लो भाग गेरुरंग भएकाले उक्त नाम दिइएको सुबेदीले बताए ।

योसँगै नेपालमा पाइने चाँचर प्रजातिको चरा संख्या २० पुगेको छ । अब नेपालमा चराको संख्या थपिएर ८ सय ९७ प्रजाति पुगेको छ ।

नयाँ चराको तस्बिरसहित विस्तृत सूचना दिएपछि राष्ट्रिय अन्तर्राष्ट्रिय चरा विज्ञको टोलीले उक्त चरा नेपालका लागि नयाँ भएको पुष्टि गरेको नेपाल पन्छीविद् संघका कार्यकारी निर्देशक लक्ष्मण पौड्यालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *